रामेछाप, पुस २ । द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्। जिल्लाको उमाकुण्ड गाउँपालिका–लमा पर्ने सो दुर्गम गाउँलाई गृहमन्त्री थापाले बिर्सिए पनि गाउँलेले उनलाई सम्झिरहेको स्थानीयले बताएका छन्।
‘हाम्रो गाउँमा लामो समय बसेर रामबहादुर थापाले युद्धको रणनीति बनाए, मोर्चा परिचालन गरे, त्यसैको आधारमा अहिले गृहमन्त्रीसम्म बनेका छन्,’ स्थानीय तेण्डी शेर्पाले, ‘त्योबेला हाम्रो गाउँमा उनको राम्रो खेलखोर थियो तर अहिले उनले त्यो सबै सबै बिर्सिएजस्तो लाग्छ।’
लाच्छोर गाउँलाई थापाले बिर्से पनि आफूहरूले भने उनलाई सम्झिरहेको शेर्पाले बताए। उनका अनुसार थापालगायत नेताहरूले बिर्सिएकै कारण लाच्छोर गाउँ यतिबेला विकासको दृष्टिले अोझेलमा परेको छ। थापा बस्दा लाच्छोर गाउँ जस्तो दुर्गम थियो आज पनि त्यस्तै दुर्गम छ।
सशस्त्र द्वन्द्वको समयमा थापाले पाँच वर्षभन्दा बढी समय सोही गाउँलाई आफ्नो सेल्टरका रूपमा प्रयोग गरेका थिए। उनले चार महिना त एउटै घरमा बसेर युद्धको रणनीति बनाउने र मोर्चाहरू परिचालन गर्ने काम गरेको स्थानीय बताउँछन्। सरकारी सुरक्षाकर्मी हत्तपत्त पुग्न नसक्ने भएकाले माओवादीलेत स्थानको रूपमा त्यसलाई प्रयोग गरेको स्थानीयको भनाइ छ।
द्वन्द्वकालीन समयमा माओवादीले सो गाउँमा ठुलो संख्यामा सैन्य तालिमसमेत सञ्चालन गरेका थिए। त्यो बेला गाउँलेले प्रति घर ३० देखि ४० हजार रुपैयाँसम्म चन्दा दिएर माओवादीलाई सहयोग गरेका थिए। सो क्षेत्रको कमान्ड सम्हालेर मोहन वैद्य, कृष्णबहादुर महरालगायत नेता पनि सो गाउँमा केही समय बसेको स्थानीय बताउँछन्। नागरिक दैनिकबाट