बनेपा, ३ पुस : विदेशमा तीन वर्ष काम गरेर फर्कनुभएका सिन्धुली घ्याङलेक गाउँपालिका वडा नं ३ का सन्तबहादुर श्रेष्ठ यतिबेला बनेपास्थित नयाँबस्तीमा ब्लक उद्योगमा काम गर्दै आएका छन् ।
मलेशियामा श्रमका लागि जानुभएका उनले त्यसरी नै खटेर काम गर्नसकेमा नेपालमा नै बसेर काम गर्न सकिने भन्दै घर फर्केपछि काम खोज्न थालेको र अहिले बनेपामा दुई वर्षदेखि ब्लक उद्योगमा काम गरिरहेको बताए । त्यसअघि घरको प्लास्टर गर्ने काममा लागेका उनले कामकै सिलसिलामा सिन्धुलीबाट बनेपा आएर परिवारसहित सो काममा व्यस्त रहेको बताए । श्रेष्ठले भने, “त्यतिको खटेर काम गरेको खण्डमा यही बसेर कमाउन सकिन्छ, अहिले महिनाको रु २०–२५ हजार कमाउँछु ।”
“विदेशमा पनि कमाउने त आखिर उही हो, यता बस्यो भने परिवारसँगै बसेर सबै कुरामा साथ र सहयोग गरेर बस्न पाइन्छ, त्यसैले विदेशमा भन्दा यही ठिक छ”, श्रेष्ठले थपे, “विदेश जाँदा यता के भयो कस्तो भयो होला भन्ने पीर हुन्थ्यो, अहिले त्यो सोच्नुपरेको छैन, सँगै बसेर सँगसँगै काम गर्दै आइरहेका छौँ ।” उनीसँगै सो ब्लक उद्योगमा काम गर्ने बनेपा नगरपालिका– १० का कामदार कृष्ण श्रेष्ठले पनि त्यसरी काम गरेर महिनाको २० देखि २५ हजारसम्म कमाउने गरेको बताए । “काम गर्न गाह्रो छ, तर पनि कमाउनका लागि काम त गर्नैप¥यो”, उनले भने, “पहिला घरमा रङ लगाउने काम गरेको थिएँ, अहिले यो काम गर्न थालेको एक वर्ष भयो ।” एक बोरा सिमेन्टबाट साना ठूला आकार हेरेर ८० देखि ८५ वटासम्म ब्लक बनाउन सकिने उनको भनाइ थियो । एक बोरा सिमेन्ट बराबर ५०० रुपैयाँ पाउने गरेको उनले बताए । मागका आधारमा काम सबै ठेक्कामा गर्ने गरेको उनको भनाइ थियो । उनी अहिले श्रीमान् र श्रीमती दुवै जनाले सो काम गरेको बताए ।
ब्लक उद्योग सञ्चालक काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं १ स्थायी घर भएका डम्बरबहादुर घिसिङले बनेपामा ब्लक उद्योग सञ्चालन गरेपछि अहिले सात जनाले काम पाएका छन् । राम्रो आम्दानी गर्दै आएका उनले बनेपा नगरपालिका वडा नं ९ नयाँबस्तीमा विगत तीन वर्ष अगाडिदेखि सञ्चालन गर्दै आएको लक्ष्मी क्वालिटी ब्लक उद्योगमा आफूसँगै अरु सात जनाले रोजगारी दिँदै आएका छन् ।
सो उद्योगबाट मागअनुसार विभिन्न खाले ब्लक बनाएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । फुटपाथ, पार्किङ, बगैँचा र होटलको आँगनका लागि धेरैजसो माग आउने गरेको उनको भनाइ थियो । “उद्योगमा नै आउने माग अनुसारको ब्लक बनाउने गरेका छौँ”, घिसिङले भने, “काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका जिल्लाबाट मा आउने गरेको छ ।” डेढ लाख रुपैयाँमा शुरु गरेका उनले अहिलेसम्ममा करीब रु ४५ लाखजति कमाइ सकेका छन् ।
विशेष गरेर काठमाडौँ बजार भएकाले अब त्यतै बढी केन्द्रित गरी उत्पादन र बजारीकरणलाई जोड दिनेगरी काम भइरहेको उनले बताए । शुरुमा घर निर्माण गर्ने काममा मिस्त्री काम गरेको र त्यसपछि ठेक्कापट्टाको काममा लागेका उनले आफैँ काम गर्न नसक्ने र मान्छेलाई लगाउँदा भनेजस्तो आम्दानी नभएपछि सो काम छोडेर ब्लक बनाउने उद्योग खोलेको बताए । पहिला डेढ रोपनी जग्गा भाडामा लिएर थालनी गरेको उद्योग तीन-चार महिना अगाडिदेखि अर्को साढे तीन रोपनी जग्गा भाडामा लिएर काम गर्दै आएका छन् ।रासस