Logo

मन्त्री गुरुङ र बेलायती राजदुत पोलिटबीच भेटवार्ता



महिला हिंसा अन्त्य गर्न नेपाल सरकारसँग मिलेर काम गर्ने राजदूतको विश्वास

काठमाडौं, ३ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र नेपालका लागि बेलायतकी राजदुत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित् मन्त्री गुरुङकै कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरिएको मन्त्री गुरुङको सचिवालये जनाएको छ ।

भेटका अवसरमा राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आफू सो सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल आएको बताएकी थिईन् । उनले मन्त्री गुरुङसमक्ष बेलायत सरकार नेपालका महिला र बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक रहेको पनि विश्वास दिलाएकी छिन् ।

राजदुत पोलिटले आफू पनि महिला भएकाले नेपाली महिलाको चुनौतिको विषयमा बुझ्न ईच्छुक रहेको तथा बाल बिवाह र महिला हिंसाको अन्त्य गर्ने विषयमा नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएकी थिईन् ।

यता, मन्त्री गुरुङले नेपालका लागि बेलायतको पहिलो महिला राजदूत भएकोमा बधाई दिँदै राजदुत पोलिटको कार्यकालमा नेपालका महिलाको आर्थिक सशक्तिकरणको क्षेत्रमा द्धिपक्षीय सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको केही समय अघि भएको बेलायतको औपचारिक भ्रमणको स्मरण गराउँदै यसले दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सघाउ पु¥याएको स्पष्ट पारेका छन् ।

मन्त्री गुरुङले नेपाल सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प लिएको स्मरण गराउँदै सो अभियानमा लगानी गर्न आवश्यक वातावरण बनेको पनि राजदुत पोलिटसँग आफ्नो धारणा रखेका थिए ।

मन्त्री गुरुङले हाल मन्त्रालयले बाल विवाह अन्त्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि सबै प्रदेश र स्थानीय तहमा सोही अनुसार अभियान संचालन भईरहेको बताएका छन् । उनले राजदुत पोलिट आफैं महिला भएकाले उनको कार्यकालमा दुई मुलुकका महिलाबीचको जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरेको सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्