रिपोर्टर्स नेपाल, ४ पौष । भारतीय जनता पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री अमित शाह अहिले निकै चर्चामा छन् । भारतमा नागरिकतासम्बन्धित विधेयक संसदबाट पारित गराउन उनले भूमिका मात्र खेलेनन् त्यसविरुद्ध प्रदर्शन हुँदा पनि टसमस भएका छैनन् ।
विधयेकमा भारतबाहिरबाट पुग्ने मुसलमानहरुलाई नागरिकता लिनबाट रोक लगाउने व्यवस्था छ । जबकि हिन्दुहरु अन्य देशबाट आएमा निश्चित मापदण्ड पूरा भएमा नागरिकता प्राप्त गर्न सक्छन् । यसलाई कतिपयले सत्तारुढ भाजपाले मुसलमानप्रति पूर्वाग्रही व्यवहार गरेको आरोप लगाइरहेका छन् ।
केही महिना अघि भारतमा नयाँ नागरिकता विधेयकको प्रसंग चलिरहँदा भारतका लागि नेपालका लागि राजदूत निलाम्बर आचार्य शाहलाई भेट्न पुगे । उनले नागरिकता विधयेकको प्रसंग उठाएपछि शाह असन्तुष्ट बने । भारतको आन्तरिक मामलामा राजदूत आचार्यले बोलेपछि शाहले नेपालीहरुप्रति आफूले निकै भरोसा गरेको बताएको बुझिएको छ । राजदूत आचार्य एकजना नेपालीकै कारणले शाहसँग सहज तरिकाले भेट्न पुगेका थिए । उनले नागरिकता विधेयकबारे कुरा उठाएपछि शाहले कुटनीतिक जवाफ दिएर असन्तुष्टि पोखेको बुझिएको छ ।
अमित शाहले लामो समययता नेपाली नागरिकलाई विशेष सहयोगीका रुपमा राखेका छन् । उनी नेपालीलाई निकै भरोसा गर्छन् भन्ने उदाहरण हो यो । नेपाली नागरिक सन्दीप राना विगत छ वर्षयता शाहका विशेष सहयोगी छन् । चुनाव प्रचार देखि महत्वपूर्ण काममा राना साथमै रहन्छन् । स्रोतका अनुसार शाहले नेपालीप्रति सबैभन्दा बढी विश्वास गर्नुमा धार्मिक र सांस्कृतिक समानता पनि मुख्य कारण रहेको छ ।
विश्वस्त स्रोतका अनुसार शाह नेपाल आउन चाहिरहेका छन् । उनी पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएका हुन् । नेपालसँग धार्मिक र सांस्कृतिक समानता र खुल्ला सीमाको सामिप्यताका बाबजुद पछिल्लो समय नेपालमा भारतविरोधी गतिविधि बढाउनेहरु सक्रिय हुन खोजेको जानकारी पाएपछि भने भारतीय गृहमन्त्री शाह निकै चिन्तित भएको बुझिएको छ ।
विगतमा नागरिकता विधेयकबारे तयारी हुँदा नेपाली र भुटानीको विषयमा पनि कुरा उठ्दा गृहमन्त्री नहुँदै शाहले नेपालीसँग भारतीयलाई इतिहास देखि समस्या नभएको बताएका थिए । विश्वस्त स्रोतका अनुसार शाहले नेपाली जति विश्वासयोग्य र असल मित्र भारतका लागि अरु नभएको बताएका थिए । गुजरात गृहराज्य भएका शाहले नेपालीलाई धेरै विश्वास गर्ने गरेको देखेर भाजपाका कतिपय नेतारुले सहयोगीमा नेपालीलाई राखेका छन् । भाजपा बाहेकका दलका नेताहरु अभिषेक मनु सिंघवी, मुलायम सिंह यादवलगायतका सहयोगी पनि नेपाली छन् ।