Logo

आठ वर्षमा पनि बनेन सिटीहल



दोलखा, पुस ७ । चरिकोटको सातदोबाटो चोकबाट मुख्य बजार क्षेत्र प्रवेश गरेर पशुपति डाँडा निस्किएपछि आइपुग्ने टुँडिखेलमुनि दायाँपट्टि पिलर उठाएर ढलान मात्र गरिएको एउटा ठूलो भवन देखिन्छ। झन्डै एक रोपनी क्षेत्रफलमा ठड्याइएको उक्त भवन देख्दा लाग्छ, ठुलै डिजाइनको बहुउपयोगी भवन बन्दैछ। नजिक पुगपछि देखिन्छ, ती पिलरको रडमा खिया लाग्न थालिसकेको छ। भुइँतलामा झारैझार उम्रिएका छन्।

सरकारले भवन विभागमार्फत आठ वर्षअघि उक्त सिटीहल बनाउन सुरु गरिएको हो। साढे दुई करोड लागतमा टेन्डर भएको सो हल अलपत्र पर्नुमा सरकार र ठेकेदार कम्पनी दुवै दोषी देखिन्छन्। चरिकोट बजारमा सिटीहल निर्माण गर्ने भनेर २०६८ सालमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धुलिखेलले यो भवनको टेन्डर निकालेको थियो। तत्कालीन जिविस सभापतिको सरकारी निवास रहेको यो स्थान खाली भएपछि जिविसले सिटीहल निर्माणका लागि यही ठाउँ उपलब्ध गराएको थियो।

त्यतिबेला सरकारी भवन निर्माण तथा रेखदेखको काम धुलिखेलमा रहेको डिभिजनले नै हेथ्र्यो। यो सिटीहल निर्माणका लागि रौताहा, ओमबुद्ध, सुन्दरीमाई निर्माण सेवा गरेर तीनवटा ठेकेदार कम्पनीले साझेदारीमा दुई करोड ५४ लाख रुपैयाँमा ठेक्का पायो। पाँच सयजना अटाउने क्षमताको यो हल सुरुमा ठेकेदार कम्पनीले दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता विभागसँग गरेको थियो। तर ठेकेदारले काम नसकेपछि दुईपटकसम्म म्याद थप भयो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्