समाजवादी पार्टीले फिर्ता लियो सरकारको समर्थन
काठमाडौं, ९ पुष । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले आजबाट वर्तमान सरकारको दुई तिहाई बहुमतको दम्भ समाप्त भएको बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज पत्रकार सम्मेलन गर्दै यादवले यस्तो बताएका हुन् । हिजोमात्रै यादवले मन्त्रीबाट राजीनामा दिएका थिए ।
अब सडक र सदनमा जान्छौं
समाजवादी पार्टी नेपालले सररकालाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।
पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराईएको हो । हिजोमात्र समाजवादी पार्टीबाट सरकारमा सहभागी उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राईले राजीनमा दिएका थिए।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आजबाट ओलीको दूई तिहाईको दम्भ समाप्त भएको टिप्पणी गरेका छन् । उनले आफूहरुले सरकार छोड्नु र समर्थन फिर्ता लिनु भनेको पनि वर्तमान सरकार असफल भएको पुष्टि भएको पनि दाबी गरे ।
यादवले आफूले संविधान संशोधनको लागि प्रस्ताव लिएर मन्त्रिपरिषद बैठकमा लैजाँदा प्रधानमन्त्रीले ठाडै अस्विकार गरिदिएको टिप्पणी गरे ।
उनले भने,‘नेपालका विज्ञहरु, संविधानविद्, कार्यदल बनाएर संविधानलाई अध्ययन गर्ने छलफल गर्ने र सुझवालाई दलहरु बसेर कुन कुन कुरा अहिले संशोधन गरेर अघि बढ्ने भनेर एउटा प्रस्ताव लैजाँदाखेरि उहाँले अस्विकार गर्नुभयो । संशोधन गर्ने कार्यलाई प्रधानमन्त्रीबाट ठाडै अस्विकार भयो । संशोधनको आवश्यकत्ता छैन भन्ने अभिव्यक्ति दिनुभयो । सहमति एकलौटी रुपमा तोड्नुभयो ।’
यादवले आफ्नो पार्टीले संविधानको अधिकारबाट बञ्चित भएकाहरुलाई एकजुट गरेर अघि बढ्ने पनि स्पष्ट पारे । उनले भने,‘अब हाम्रो पार्टी सबै थारु, मुस्लिम, जनजाति, आदिवासी जो अधिकारबाट बञ्चित छन् । तीनका मुद्दा सम्बोधन गराउनको लागि अघि बढ्छ । संघीयता, शासकीय स्वरुप, समानुपातिक, समावेशी लगायतका विषयमा आवाज उठाउनुपर्छ ।’
उनले अहिले बनाइएको प्रदेश नै अधिकारविहीन रहेको टिप्पणी गरे । उनले भने,‘संघीयताका साझा सुची बनाईएका छन् । कानून बनाएर केन्द्रले आफ्नो हातमा लिएका छन् । संविधानमा पनि प्रदेशलाई अधिकारसम्पन्न बनाईएको छैना् । संशोधनको आवश्कत्ता छ । प्रतिपक्षमा रहेर संविधानलाई संशोधन गर्ने र त्रुटीहरुलाई सच्याउने हाम्रो उद्देश्य हो ।’
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम