काठमाडौँ, ११ पुस । करिब साढे दुई महिनाअघि वीरगन्जको गणेशमान चोकमा त्यस्तो नभइदिएको भए सहनाज खातुन घरकै काममा रमाइरहेकी हुन्थिन् । श्रीमान् रसुल अन्सारी भर्खरै रेशमकोठीमा सुरु गरेको आल्मुनियमको झ्याल बनाउने कारखानामा काम गरिरहेका हुन्थे । अनि छोरी मुस्कान खातुन स्कुलबाट फर्केर खाजा खाईवरी साथीसँग खेल्न गइसकेकी हुन्थिन् ।
उपचारका क्रममा मुस्कान खातुन । २१ भदौमा विद्यालयबाट छपकैयास्थित घर फर्किंदै गरेकी ९ कक्षामा अध्ययनरत १५ वर्षीय मुस्कानमाथि एसिड आक्रमण भयो । त्यही दिनपछि मुस्कानको अनुहारबाट मुस्कान त हरायो नै, उनका बाबु, आमा र तीन भाइबहिनीको दैनिकी पनि बिथोलियो । घटनालगत्तै रसुल र सहनाज मुस्कानको उपचारका निम्ति सबै लालाबाला च्यापेर काठमाडौं हान्निए । कीर्तिपुर बर्न अस्पतालको नयाँ भवनको वार्ड नम्बर ११४ मा गत साता पुग्दा मुस्कान खातुन पछिल्लो पाँचौं अप्रेसनपछि विस्तारै तंग्रिन खोजिरहेकी थिइन् । बेडको एक छेउमा चुपचाप बसेकी सहनाज मुस्कानको अनुहारमा उदाउँदै गरेको खुसी हेर्न आतुरझैं थिइन् । साढे दुई महिनायता उनी एउटै कुराको पर्खाइमा छिन्, छोरीको अनुहारमा फक्रिएको पुरानो मुस्कान हेर्ने । तर त्यो त्यति सजिलो छैन ।
निरन्तर ७२ दिनको अस्पताल बसाइपछि मुस्कान पहिलोपटक डिस्चार्ज भएकी थिइन् । त्यसपछि उनी कलंकीस्थित मामाघरमा २० दिन बसिन् अनि थप उपचारका निम्ति फेरि अस्पताल नै फर्किन् । सहनाजले पाँचौं अप्रेसनपछि मुस्कानको स्वास्थ्य केही दिन बिग्रिएको सुनाइन् । अनि लामो सास तानेर भनिन्, ‘धन्न अल्लाहको निकाह । भेन्टिलेटरमा एक दिन राखेपछि सुध्रियो ।’ पछिल्लो अप्रेसनमा मुस्कानको पेटको छाला सर्जरी गर्दै निकालेर एसिडले जलेको च्यापु र छातीमा राख्ने काम गरिएको थियो । सहनाजले अप्रेसनपछि छोरीले एक सातासम्म सुप मात्रै खाएको सुनाइन् र उज्यालो अनुहार बनाउँदै भनिन्, ‘बल्ल केही दिन भयो, जाउलो र अरू नरम खानेकुरा खान थालेकी छे ।’ प्रत्येकपल्ट मुस्कानलाई अप्रेसन थिएटरभित्र छिराएपछि सहनाजलाई हरेक सेकेन्ड मिनेट जस्तो लाग्छ । हरेक मिनेट घण्टा जस्तो लाग्छ । आठौं अप्रेसनमा पनि त्यस्तै भयो उनलाई । ‘बिहान नौ बजे अप्रेसन गर्न लग्यो,’ उनले सुनाइन्, ‘चार बजेमात्र निकाल्यो । त्यतिन्जेल मैले अल्लाहको दुहाई गर्दै बसें ।’ पछिल्लो अप्रेसनका बेला कुरुवा घरभित्रको छटपटी सुनाउँदा सहनाजको आँखा रसिला देखिएका थिए । उनले भनिन् पनि, ‘प्रत्येकपल्ट मुस्कानलाई अप्रेसन थिएटर छिराएपछि बाहिर ननिकाल्दासम्म हामी अब्बु र अम्मीको मन पोलिरहन्छ ।’
बिथोलिएको दैनिकी र खलबलिएको जिन्दगीको यात्रा कहिलेबाट सरल हुन्छ भन्ने उनलाई अन्दाजसम्म छैन । निरन्तरको अस्पतालको बसाइ र एकपछि अर्को गर्दै भइरहेको अप्रेसनले मुस्कान असाध्यै गलेकी छन् । उति नै गलेका छन् तर थाकेका छैनन्, सहनाज र रसुल पनि । सहनाज अहिले कलंकीस्थित दाइको दुई कोठे डेरामा आश्रय लिइरहेकी छन् । मुस्कानबाहेकका तीन छोराछोरी, श्रीमान् र उनलाई दाइको डेरामा बस्न सजिलो छैन । तर अप्ठ्यारो मानेर पनि के गर्नु । उनीसँग तत्कालै अर्को विकल्प पनि छैन । मुस्कानको उपचार कहिले सकिन्छ भन्ने पनि टुंगो छैन । उनले चिकित्सकबाट थाहा पाएकी छन्, अझै १३ सर्जरी त बाँकी नै छ ।
तेजाब आक्रमणयता सहनाजले कुनै रात र दिन पनि छोरीलाई एक्लै छाडेकी छैनन् । अस्पतालमै उनको रात पर्छ, अस्पतालमै बिहान सुरु हुन्छ । पति रसुल दिनभर छोरी र उनलाई साथ दिन्छन् । साँझ ६ बजेतिर अस्पतालबाट निस्कन्छन् । तर मन भने छोरीसँगै हुन्छ । रसुल घर पुगेपछि पनि सहनाजलाई तारन्तार फोन गरिरहन्छन् । छोरीलाई औषधि खुवाए–नखुवाएको बुझ्छन् । खाना खाए–नखाएको सोध्छन् । राति सुत्नुभन्दा अघि पनि रसुल छोरीकै खैखबर बुझेर निदाउँछन् । अनि बिहान १० नबज्दै टिफिनमा छोरी र पत्नीलाई खाना बोकेर अस्पताल पुगिहाल्छन् । प्रत्येक सर्जरीपछिको शारीरिक पीडा र त्यसपछि घाउ निको नहुन्जेलसम्मको छटपटी मुस्कानले आजसम्म पचाइसकेकी छन् । महिनौंसम्म अस्पताल बस्दाको अत्यास पनि पचाउँदै हिँडेकी छन् । तेजाब आक्रमणको घटनाले उनको अनुहारको नाप नक्सा मात्र बदलिदिएन, जीवन बुझाइ र समझ शैली पनि बदलिदियो ।
आक्रमणलगत्तैका दिनमा अस्पतालको पट्यारलाग्दो समय कटाउन मुस्कानलाई दकस थिएन । दैनिक भेट्न आउनेको ताँती हुन्थ्यो । पत्रकार, कलाकार, सेलिब्रिटीदेखि नेतासम्म उनलाई भेट्न को मात्रै पुगेनन् । सबैले माया र शुभेच्छा दिए । केहीले मनैदेखि सहयोग पनि गरे । समयसँगै शुभेच्छुकहरू आ–आफ्नै काममा हराए । मुस्कानले सुनाइन्, ‘सुरु–सुरुमा त कत्ति धेरै मान्छे हुन्थे । अहिले फाट्टफुट्ट मात्र आउँछन् । अनि म फुर्सदमा किताब पढछु ।’ उनले आफूले साहसी केटीका रूपमा चिनिएका अफगानी मलाला युसुफजाईको आत्मकथा ‘आईएम मलाला’ देखि सरुभक्तको ‘चुली’ उपन्यास, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ लगायतका दर्जन किताब पढेको सुनाइन् । उपचारका क्रममा मुस्कानको तिघ्रा र पेटको छाला निकाल्दै जलेको ठाउँमा टाल्न एकपछि अर्को अपरेसन भइरहेको छ । तेजाबले जलेको दाहिने कानलाई जोगाउने हर प्रयास सफल नभएपछि चिकित्सकले कान नै काटिदिए । एसिड पीडितका निम्ति काम गरिरहेका सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले कान्तिपुरसँग भने, ‘ख्याल गर्नुस् त तपार्इंको छोरी गालामा एउटै मात्र पिम्पल आउँदा पनि कति निराश हुन्छे वा उदास हुन्छे । मुस्कानको अनुहारबाट त मुस्कान नै खोस्ने काम भएको छ । धन्न बलियो आत्मबलले आफूलाई सम्हालिरहेकी छन् ।’
मुस्कानको आत्मबल बलियो बनाउन भारतीय अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश नै पठाए । अन्य भारतीय कलाकारले पनि स्वास्थ्य लाभको कामना गरे । गायक राजु लामादेखि पूर्वमिस नेपाल श्रृंखला खतिवडासम्मले उनलाई भेटे र हौसला दिए । अस्पतालको बेडमा दिन र रात काटिरहेकी मुस्कानलाई छपकैयाको यादले बेलाबेला खुब सताउँछ । स्कुले साथीहरू सम्झनामा आउँछन् । हजुरआमा जायदा खातुनको खुबै सम्झना आइरहन्छ । उनले सुस्तरी सुनाइन्, ‘फेसबुकमा मेरो फोटो हेरेर हजुरआमा खुबै रुनुहुन्छ रे । कहिलेकाहीँ रुँदै फोन पनि गर्नुहुन्छ ।’ रोइरहेकी हजुरआमासँग कुरा गर्दा मुस्कानको गलामा शब्द अड्किएजस्तो हुन्छ । उनले हजुरआमाको कुरा सुनाइन्, ‘अरू जे भए पनि जति खर्च लागे पनि अनुहारको दाग हटे हुन्थ्यो ।’ हजुरआमाले मुस्कानका निम्ति मस्जिदमा गएर प्रार्थना गरेकी छन् । आफ्ना गाउँले र साथीहरूले पनि यस्तै प्रार्थना गरेको मुस्कानले सुनाइन् । सहनाजले यही बेला भनिन्, ‘पूरै सन्चो भएपछि मुस्कानलाई लिएर राजस्थानको अजमेर सरिफमा च्यादर चढाउँछु भनेर भाकल गरेकी छु ।’ मनोकामनाका साथ मुस्लिम धर्म मान्नेहरू राजस्थानस्थित अजमेर सरिफको कब्रस्तानमा च्यादर चढाउने गर्छन् ।
मुस्कानले कैयन् सहयोगी हात भेटिन् । प्रदेश सरकारले पाँच लाख रुपैयाँ दियो । वीरगन्ज नगरपालिकाले तीन लाख दियो । गत ९ असोजमा केन्द्र सरकारले पनि तीन लाख दिने घोषणा सुनायो । समाजसेवी थापाले भने, ‘सम्झिनुस् त आफ्नो पदीय मर्यादाको ख्याल नेताहरू कति धेर गर्छन् । तर मुस्कानलाई सहयोग गर्ने काममा केन्द्र र प्रदेश सरकारले दिएको रकमको मर्यादा मिल्यो त रु’ खैर जसले जति सहयोग गरे पनि त्यही नै सहनाजलाई लाख भइदियो ।
कान्तिपुर दैनिकबाट