ललितपुर, पुस ११ । सामूहिक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र गजुरेल र सन्देश शर्माले सफाइ पाएका छन्। गजुरेल कांग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य र शर्मा युवा संघ केन्द्रीय सदस्य हुन्।
जिल्ला अदालत ललितपुरका न्यायाधीश डा। रमेशप्रसाद रिजालको इजलासले उनीहरूलाई सफाइ दिएको हो। १९ वर्षीया किशोरीलाई लगनखेलको एक होटलमा पुर्याएर जबरजस्ती गरेको आरोप गजुरेल र शर्माविरुद्ध लागेको थियो।
महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख टेकप्रसाद राईका अनुसार उनीहरूलाई कात्तिक ३ गते पक्राउ गरिएको थियो। पीडितको सम्बन्ध प्रहरीका असइ उमेश केसीसँग थियो। उनीसँगको सम्बन्ध बिग्रिन थालेपछि किशोरी गजुरेलसँग नजिकिन पुगिन्।
फेसबुकमार्फत चिनजान भएका गजुरेलसँग उनको भेटघाट बाक्लिन थाल्यो। यसै क्रममा गजुरेलले असोज २९ गते लगनखेलस्थित एक होटलमा बोलाएका थिए। होटलमा गजुरेल, शर्मा र अर्का एक जना पनि गएका थिए। किशोरीले घरमा साथीको जन्मदिन मनाउन जानु छ भनेर ढाँटेको देखिएको प्रहरीले जानकारी दिएको छ।अन्नपूर्ण पोस्ट्बाट