Logo

सभामुखमा कसले बाजी मार्ला ? ओली-प्रचण्डमात्रै होईन राष्ट्रपतिको पनि स्वार्थ



काठमाडौं, ११ पुष । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया पाँच दिनको लागि पर सरेको छ । आजबाट सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने भनिएको थियो । तर, सभामुखको लागि प्रमुख दाबेदार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण सभामुख निर्वाचन प्रक्रिया पुष १६ गतेसम्म लागि पर धकेलिएको छ । नेकपाले सभामुखमा आफ्नो पार्टीको तर्फबाट उम्मेद्धवार तय गर्न सकेको छैन् । यसको प्रमुख कारण प्रधानमन्त्री तथ अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीको आ आफ्नै उम्मेद्धवार रहनु रहेको बुझिएको छ ।

अध्यक्ष ओलीले पूर्व एमाले खेमाबाट वर्तमान संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाम अघि सारेका छन् । अर्का अध्यक्ष दाहालले पूर्व माओवादी खेमाबाट अग्निप्रसाद सापकोटाको नाममा अडान लिएका छन् । उता, राष्ट्रपति भण्डारीले भने वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने अडान लिएकी छिन् ।

कतिपयले सभामुखमा अध्यक्ष दाहालले अघि सारेका उम्मेद्धवारलाई नै बनाईनुपर्ने अडान लिएका छन् । यसअघिपनि पूर्व माओवादी केन्द्रबाट कृष्णबहादुर महरालाई सभामुख बनाईएको छ । महरा यौन काण्डमा फसेपछि अहिले सभामुख पद रिक्त छ । यही पुष ४ गते बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुष ११ गतेबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सहमति गरेको छ ।

उक्त सहमतिअनुसार प्रमुख दलले नै सभामुखमा दाबी गर्ने बुझिएको छ । नेकपाले सभामुखमा दाबी गरे वर्तमान उपसभामुखले राजीनामा दिनुपर्नेहुन्छ । संसदको अर्को बैठक यही पुष १६ गतेको लागि बोलाईएको छ । त्यो भन्दा अघि नै सभामुखमा नेकपाले नाम टुँगो लगाउने विश्वास लिईएको छ । नेकपाका अर्का अध्यक्ष दाहाल चितवनमा रहेकोले आज सभामुखमा नाम चयन गर्न नसकिएको नेकपानिकट उच्च स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्