काठमाडौं, पुस १४ । सामाजिक सेवाका नाउँमा आएका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजिओले धर्मप्रचारको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता संस्थाको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको छ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै संविधान र देशको कानुनप्रतिकूल हुनेगरी आइएनजिओको धार्मिक कार्यक्रम स्वीकृत गर्ने समाज कल्याण परिषद्का कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको हो।
समाज सेवा गर्ने उद्देश्यले नेपाल आएका भनिएका आइएनजिओले परिषद्कै कर्मचारीसँगको मिलेमतोमा धर्मप्रचारका कार्यक्रम स्वीकृत गरी काम गरिरहेको भन्दै अख्तियारले कोषका सम्बद्ध कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको हो।
आयोगको पत्रसँगै प्रधानमन्त्री कार्यालयले धर्म प्रचार र सरकारले लिएको एक चीन नीतिविपरीत काम गर्ने आइएनजिओको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्ने तयारी अघि बढेको छ। ‘परिषद्का कर्मचारीसँगको मिलेमतोमै परिषद्बाट वार्षिक कार्यक्रम स्वीकृत गराएरै आइएनजिओले धर्म प्रचार र एक चीन नीतिविपरीतका कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्चअधिकारीले नागरिकसँग भने, ‘संविधान, कानुन र परराष्ट्र नीतिको प्रतिकूल हुनेगरी परिषद्बाटै कार्यक्रम स्वीकृत गराएर सञ्चालन गराउनु अत्यन्तै गम्भीर विषय हो, यस विषयमा छानबिन गर्न हामीलाई निर्देशन पनि प्राप्त भएको छ, अब त्यसका लागि छानबिन प्रक्रिया अघि बढिसकेको छ।’
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अख्तियारको पत्रलगत्तै कोषको कामकारबाहीका विषयमा समिति गठन गरेर छानबिन गर्ने तयारी सुरु भइसकेको आजको नागरिक दैनिकमा खवर छ ।