Logo

इराकस्थित अमेरिकी दूतावासमा आक्रमण



काठमाडौँ, १६ पुस । अमेरिकी सेनाले इराकका विभिन्न स्थानमा हवाई हमला थालेपछि क्रुद्ध विद्रोहीले मंगलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका छन् ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा मंगलबार गरिएको आक्रमण । अमेरिकी सुरक्षाकर्मीले आक्रमणमा संलग्न इराकीहरूलाई अश्रुग्यास प्रहार गरी तितरबितर पारेका बीबीसीले जनाएको छ । आक्रमणका क्रममा सुरक्षाकर्मीको एक सेन्ट्री पोस्ट ध्वस्त भएको छ । अमेरिकी सेनाले गत आइतबारदेखि इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको थियो । अमेरिकाका अनुसार उक्त आक्रमण दुवै देशमा रहेका इरान समर्थित लडाकु शिविर लक्षित रहेको छ ।

इराकी अधिकारीका अनुसार अमेरिकी आक्रमणमा कम्तीमा पनि २५ जना कताइब हेजबोल्लाह लडाकुको ज्यान गएको छ । ५० जना घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार आफ्नो देशको सेनाले आइतबारदेखि कताइब हेजबोल्लाहका अखडा र उनीहरूको हातहतियार भण्डारण स्थललाई निसाना बनाएको हो । आइतबार मारिएका कताइब हेजबोल्लाहको अन्त्येष्टि गरिएलगत्तै मंगलबार अमेरिकी दूतावासअगाडि विरोध गरिएको थियो । इराकी सरकारी कार्यालय तथा अमेरिकी दूतावास रहेको क्षेत्र ‘ग्रिन जोन’ मा विद्रोही नेतासहित हजारौं मानिसले जुलुस निकालेका थिए । इराकी सुरक्षाकर्मीले विरोध प्रदर्शनका लागि ग्रिन जोन प्रवेश गर्न दिएको जनाइएको छ । कडा सुरक्षा रहेको ग्रिन जोनमा प्रवेश गर्न विभिन्न सुरक्षाजाँच पार गर्नुपर्छ । उक्त स्थलमा प्रवेश गरेपछि कताइब विद्रोहीले आफ्ना झण्डा फहराउँदै अमेरिकाविरोधी नाराबाजी गरेका थिए । प्रदर्शनकारीले मुख्य गेटमा ढुंगा हान्नुका साथै पर्खालमा आगाजनी गरेका थिए ।

त्यसलगत्तै आक्रोशित भीडले दूतावासको एउटा प्रवेशद्वारा तोडफोड गरी भित्र प्रवेश गर्न खोजेपछि अमेरिकी सुरक्षाकर्मीले अश्रुग्यास प्रहारगरेका थिए । इराकमा रहेका अमेरिकी सेनामाथि केही दिनअघि आक्रमण गरिएपछि अमेरिका कुद्ध भएको हो । इराकी सहर किर्कुकमा गरिएको आक्रमणमा एकजना अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । आक्रमणमा केही अमेरिकी सेना तथा इराकी अधिकारी घाइते भएका थिए । इराकमा केही समययता सक्रिय कताइब हेजबोल्लाहले पश्चिमी इराकका कतिपय स्थान नियन्त्रणमा लिएका थिए । इराकी सुरक्षाअधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको दाबी गरेका छन् । इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले ‘अमेरिकी हवाई आक्रमणले आफ्नो देशको सार्वभौमिकताको ठाडो उल्लंघन भएको’ बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार महदीले ‘अमेरिकासँगको सम्बन्धबारे गम्भीर समीक्षा गर्ने बेला भएको’ समेत जनाएका छन् ।

कताइब हेजबोल्लाहका कमान्डर अबु महदी अल–मुहान्दिसले ‘इराकस्थित अमेरिकी सेनाका लागि आफ्ना लडाकुले दिने प्रतिक्रिया झेल्न निकै गाह्रो पर्ने’ चेतावनी दिएका छन् । इरानले अमेरिकी आक्रमणलाई ‘आतंवादको प्रस्ट उदाहरण भएको’ जनाएको छ । अमेरिकाले कताइब हेजबोल्लाह समूहलाई आतंकवादी संगठनका रूपमा व्यवहार गर्ने गरेको छ ।गत आइतबार वासिङ्टन डीसीमा बोल्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘आफ्नो देशकानागरिकको ज्यान जोखिममा परे अमेरिकाले प्रतिकार गर्ने’ चेतवानी दिएका थिए ।

इरान जिम्मेवार ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित दूतावासमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाएका छन् । ट्रम्पले आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै इराकी सरकारले दूतावासमा सुरक्षाकर्मी खटाउनु पर्ने बताए ।

‘इरानले गोप्य रूपमा अमेरिकी राजदूतावासमा आक्रमण गरेको छ । यसका लागि इरान पूर्णरूपमा जिम्मेवार छ,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘हामी चाहन्छौं अमेरिकी दूतावासको सुरक्षाका लागि इराकले आफ्ना सुरक्षाबल तैनाथ गरोस् ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्