Logo

शीतलहरले सुत्केरीलाई सकस



काठमाडौँ, १६ पुस । एक साताअघि जन्मेको छोरालाई समस्या देखिएपछि रौतहट चन्द्रपुर–१० मुसहर बस्तीकी २४ वर्षीया अञ्जलीदेवी राम अत्तालिइन् । उनी छोरो च्यापेर हतपत चन्द्रनिगाहपुर अस्पताल आइन् । चिकित्सकले आमा–बच्चा दुवैलाई चिसोको असर देखिएकाले न्यानोमा बस्न सुझाव दिए । चार दिन अस्पताल बसेर उनीहरू घर त फर्किए । तर, चिसोबाट जोगिने न्यानो कपडा राम परिवारमा छैन ।

प्रादेशिक अस्पताल जनकपुरको प्रसूति तथा शिशु वार्डमा उपचार गराउँदै प्रसूति महिला तथा शिशु । तराईमा एक सातायता शीतलहर चलेकाले विपन्न परिवार समस्यामा छन् । ‘शीतलहर चलेका बेला आफूसँगै बच्चालाई जोगाउन निकै समस्या हुन्छ,’ अञ्जलीले भनिन्, ‘गरिबलाई यस्तै बेला धेरै पीडा हुने रहेछ ।’ यो बस्तीमा १० जना सुत्केरी छन्, उनीहरू सबैको साझा पीडा उही हो । झुपडीमा बस्ने मुसहर समुदायलाई जाडोका बेला ओढ्नेकै समस्या पर्छ । उनीहरूका बालबालिका यही मौसममा धेरै बिरामी पर्छन् । न्यानो कपडा अभावमा अधिकांश सुत्केरी घरमै धुनी बालेर बच्चालाई न्यायो पार्ने गर्छन् ।

१० दिनअघि सिरहाको लहान नगरपालिका–२० की सञ्जु सदाय मुसहरले लहान अस्पतालमा सामान्य अवस्थामा छोरालाई जन्माइन् । घर पुर्‍याएपछि भने चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता उनमा छ । ऐलानी जग्गामा बसोबास गर्दै आएकाले सुत्ने ठाउँ र पोसिलो खानेकुरा अभावमा बच्चा हुर्काउन समस्या पर्ने उनी बताउँछिन् । पोषण अभाव र न्यानो लुगा नहुँदा यहाँका सुत्केरी–शिशु चिसोको कष्ट भोग्न बाध्य छन् । दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुर आगोको सहारा हो । अधिकांश ज्याला मजदुरीमा काम गर्छन् । जाडो लाग्नासाथ गुइँठा र पराल बालेर रात काट्ने चलन छ ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्