काठमाडौं, १६ पौष । सुरजकुमार श्रेष्ठलाई कुनैबेला सशस्त्र प्रहरीका भावी आइजीपी मानिएको थियो । सशस्त्र आइजीपी शैलेन्द्र खनालले रुचाएरै उनलाई प्रवक्ताको जिम्मेवारी दिए । तर, डिआइजीमा पाँच वर्ष रहिसकेकाले उनी १७ पौषबाट सेवानिवृत्त हुने भएका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुरजकुमार श्रेष्ठ एआइजी बढुवामा पर्न चाहेनन् । देउवा सरकारले बढुवा गरेको पाँचजना एआइजी ओली सरकारका पालामा घटुवा हुने भएपछि हतारिदै राजीनामा दिन वाध्य भए । सुरज श्रेष्ठले त्यसको लाभ लिन खोजेपनि सकेनन् । प्रहरी नियमावली संशोधन गरी डिआइजीको कार्यकाल छ वर्ष या सशस्त्र एआइजीको दरबन्दी बढाएर आफू पर्न खोजे । त्यो पनि सफल भएन ।
श्रेष्ठकै ब्याची बाबुराम पाण्डे र अरविन्द धिताल पनि एआइजीको दरबन्दी बढाउन या डिआइजीको पदावधि बढाउनेमध्ये जुनसुकै उपाय अपनाउन सक्रिय भए । मुख्यसचिव लोकदर्शन रेग्मीले चाहँदा पनि सफल भएन । यसमा गृहसचिव प्रेमकुमार राई बाधक बने ।
१७ पौष २०७२ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका सुरजकुमार श्रेष्ठ, अरबिन्द धिताल र बाबुराम पाण्डे भोलिका मितिबाट सेवानिवृत्त हुँदैछन् ।