काठमाडौं, १७ पुष । टिच फर नेपालका प्रज्ञार्थीहरुको अग्रसरतामा “क्षितिज सिकाइ मेला” नामक वृहत्त सिकाइ मेला हुने भएको छ । यहीं पौष २५ गतेका दिन श्री भोटेनाम्लाङ माध्यमिक विद्यालय, भोटेनाम्लाङ– ७, सिन्धुपाल्चोकको प्राङ्गणमा प्रज्ञार्थीहरुको आयोजनामा उक्त वृहत्त मेला हुने भएको हो ।
सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त सहकार्यमा यो सिकाइ मेला आयोजना हुन गइरहेको हो । “विज्ञान, प्रविधि र कलाको प्रवद्र्घन, हामी सबैको सम्बोधन” भन्ने मूल नारा लिई आयोजना हुन लागेको यस सिकाइ मेलाको मूल अभिभारा भनेकै विद्यार्थीमात्र नभई शिक्षक र शैक्षिक अभियन्ताहरुको पनि सिकाइका साथ साथै शैक्षिक स्थितिको सुधार एवम् प्रवद्र्घन गर्नु रहेको टिचफर नेपालकी प्रज्ञार्थी समा डंगोलको भनाइ छ ।
२०७४ साल मंसिर श्री रैथाने माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथम पटक आयोजना भएको यस मेला दोश्रो पटक श्री भोताङदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको उनले बताइन् ।
दोश्रो पटकको सिकाइ मेला १५०० भन्दा बढी दर्शकहरुले अवलोकन गर्नुभएको थियो जसमध्ये विभिन्न विद्यालयबाट १२ सय ४० विद्यार्थी, २ सय ३० अभिभावक र अन्य अतिथिहरु (गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रशासकीय अधिकृतहरु, विभिन्न संघसंस्थाका व्यक्तित्वहरु) सहभागी थिए ।
यस वर्षको मेलामा पाँचपोखरी गाउँपालिकाको १० वटा नै माध्यमिक विद्यालयले भाग लिने तयारी भएको प्रज्ञार्थी डंगोलको भनाइ छ । सिन्धुपाल्चोक भित्रकै अरु विद्यालयहरुले पनि अतिथिको रुपमा भाग लिनुका साथै अवलोकन पनि गर्ने कार्यक्रम छ ।
क्षितिज सिकाइ मेलामा विद्यार्थीहरुको सिकाइको क्षितिज उजागर हुन्छ । अन्ततः विद्यार्थीहरुले जीवनमा शिक्षाको आवश्यकता किन पर्दछ र शिक्षालाई जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर आफैँले खोज्ने प्रयत्न गर्ने ।
मेलामार्फत विद्यालय र स्थानीय सरकारबीचको सहकार्यले शैक्षिक क्षेत्रमा कसरी सुधार गर्न सकिने रहेछ भन्ने कुरा पनि प्रष्ट रुपमा देखिन्छ । उचित योजना, आपसी सहकार्य र साझेदारीका साथसाथै धैर्यता भएमा हाम्रो समुदायमा दिगो विकास हुन सक्छ भन्ने ज्वलन्त उदाहरणको रुपमा क्षितिज सिकाइ मेला प्रस्तुत भएको छ ।
मेलाको मुख्य उद्देश्य एसइइ दिने विद्यार्थीहरुका लागि उच्च शिक्षाका निमित्त परामर्श सेवा दिने र कार्यरत शिक्षकहरुको सशक्तीकरण र विद्यार्थीहरुको सिकाइ प्रक्रियाको विकास गर्ने रहेको प्रज्ञार्थी डंगोलको भनाइ छ ।
‘यस भेगमा रहको सबै सरोकारवालाहरु जिल्ला स्तरिय कार्यालय, गाउँपालिका, समुदाय र विद्यालयहरु एकै ठाउँमा आउने अवसर जुटाइएको हो, उनले भनिन्, ‘विद्यार्थीहरुको सिकाइ जीवनोपयोगी बनाउने अवसर र विद्यालयको क्रियाकलापमा सक्रियता र प्रभावकारी ढंगले प्रस्तुत हुन मेलाले योगदान दिन्छ ।’ सिकाइ मेलामालाई प्रभावारी बनाउँन सहभगिता र सहयोगको आपेक्षा समेत सञ्चालन समितिले राखेको छ ।