Logo

नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन



काठमाडौं, १७ पौष । भारतीय राष्ट्रिय कँग्रेसका महासचिव डा. डी पी त्रिपाठीको निधन भएको छ । ६४ वर्षीय त्रिपाठीको बिहिबार विहान निधन भएको हो ।

लामो समययता विरामी परेका त्रिपाठी भारतको माथिल्लो सदन राज्यसभाका सांसद समेत भएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी समेत थिए । २०६२/६३ को जनआन्दोलन हुँदा त्रिपाठी भारतीय सरकारको प्रतिनिधिका रुपमा बारम्बार नेपाल आएका थिए ।

सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीबीच १२ बुँदे समझदारी हुँदा त्रिपाठीले सक्रिय भूमिका निभाएका थिए । नेपालका राजनीतिक दलका नेतासँग त्रिपाठीको सुमधुर सम्बन्ध रहँदै आएको थियो ।

उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठी युवावस्था देखि नै राजनीतिमा सक्रिय थिए । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनीयनको अध्यक्ष निर्वाचित भएका थिए । पछि अलाहबाद विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक बने ।

लेखन क्षेत्रमा समेत दख्खल राख्ने त्रिपाठी थिङ्क इन्डिया नामक जर्नलका सम्पादक बने । कँग्रेस आईमा रहँदा त्रिपाठी तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धीका विश्वासपात्र थिए । गान्धीको हत्यापछि सोनिया गान्धीसँग दूरी बढ्नाले कँग्रेस आई छाडी भारतीय राष्ट्रिय कँग्रेसमा जोडिए ।

त्रिपाठी रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा पनि पटक पटक आएका थिए । उनी नेपालको राजनीति र विकासबारे निकै चासो राख्थे । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको बासिन्दा भएकाले पनि उनी नेपालको राजनीतिक स्थायित्व, शान्ति र विकासको चाहना राख्थे ।



प्रतिक्रिया दिनुहोस्