पुष १७, काठमाण्डौ । सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिमा बहुमतको बलमा विधान र परम्पराविपरित निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल रुष्ट छन् । महाधिवेशनको मिति र विभागहरुको संख्या थप्नेलगायतका निर्णय गलत भएको भन्दै पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले केन्द्रिय समिति बैठक बहिस्कार गर्दै आएका छन् ।
तर पौडेल र सिटौला पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका छन् । आज बसेको बैठकमा पौडेल–सिटौलानिकट सात जना केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, आनन्दप्रसाद ढुंगाना, चीनकाजी श्रेष्ठ, नरहरि आचार्य, गोविन्द भट्टराई सहभागी भएका हुन् । उनीहरू पाँचै जना वरिष्ठ नेता पौडेलनिकट मानिँदै आएका छन् । भट्टराई भने पौडेलकै जिल्लाका नेता भए पनि पछिल्लो समय देउवाको पक्षमा देखिन थालेका छन् ।
यस्तै बैठकमा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी र शिवप्रसाद हुँमागाई पनि उपस्थित भएका छन् । चौधरीले १३ औं महाधिवेशनमा नेता सिटौलाको समूहबाट कोषाध्यक्ष पदमा उमेदवारी दिएर पराजित भएका थिए । हुँमागाई सिटौला समूहकै कोटामा केन्द्रीय सदस्य पदमा मनोनित भएका हुन् ।
देउवाले बहुमतको आडमा विभिन्न निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता नलिएसम्म बैठकमा सहभागि नहुने अडान पौडेल–सिटौला पक्षले लिइरहेको छ ।