काठमाडौँ, १८ पुस । वर्षभरिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बुधबार राष्ट्रव्यापी रूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ भइसकेको छ। यही मौका पारेर नेपाल भ्रमण वर्षको गण्डकी प्रदेश सचिवालयले नयाँ र साहसिक तीनवटा नयाँ ट्रेकिङ रुट प्रवर्द्धन तयारी गरेको छ। प्रवद्र्धनको योजनामा रहेका ती पदमार्गले साहसिक पर्यटक आकर्षण गर्ने व्यावसायीको भनाइ छ।
कतिपय चल्तीका र पुराना पर्यटकीय पदमार्ग मोटरबाटोले विस्थापित र छोटिएसँगै नयाँ र तत्काल मोटरबाटोको पहुँच नपुग्ने पदमार्गलाई यो वर्ष सञ्चालनमा ल्याउन थालेको प्रदेशको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्ष गण्डकी सह संयोजक अग्नि कँडेलले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आकर्षण गर्न तीनवटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए। प्रवर्द्धनसहित सञ्चालनमा ल्याउन थालिएका ती पदमार्गमा अहिलेसम्म मोटर पुगेको छैन भने तत्काल मोटरबाटो लैजाने योजना पनि बनिसकेको छैन। निकै नै साहसिक र आकर्षक ती पदमार्गमा अहिले फाट्टफुट्ट विदेशी जाने गरेको भए पनि नियमितरूपमा पदयात्री पुगेका छैनन्। पर्यटकलाई २०२० मा आकर्षण गर्न पनि नयाँ गन्तव्य आवश्यक परेको भन्दै कँडेलले आवश्यक पूर्वाधारसहित पदमार्ग प्रवर्द्धन गर्ने र पर्यटकका लागि सञ्चालनमा ल्याउने योजना बनाएको बताए।
उनका अनुसार पोखराबाट सिक्लेस हुँदै कपुचे ताल भएर मनाङ निस्कने पदमार्ग यही वर्ष प्रवद्र्धनसहित सञ्चालनको तयारी छ। अहिले पनि केही पर्यटक कपुचे तालसम्म पुग्ने गरे पनि त्यही पदमार्ग भएर मनाङ उक्लिनेको संख्या न्यून हुने गरेको छ। त्यस्तै, मनाङबाट मुस्ताङको मुक्तिनाथसम्म निस्किने गरी अर्को पदमार्ग सञ्चालनको योजना छ। अहिले मनाङको चामे हुँदै माथिल्लो मनाङ भएर थोराङला भञ्ज्याङ ९५४१६ मि० पार गरेर मुस्ताङको मुक्तिनाथ निस्किने बहुचर्चित अन्नपूर्ण फेरोको पदमार्ग सञ्चालनमा छ। तर, अब त्यसलाई पनि विकल्प दिँदै नयाँ पदमार्ग सञ्चालनको तयारी भइरहेको कँडेलले बताए।
नागरिक दैनिकबाट