काठमाडौं, पुस १८ । सरकारले कम्प्युटर अपरेटर, ड्राइभर, कार्यालय सहयोगी, टाइपिष्ट जस्ता तल्लो तहका दरबन्दी कटौती गर्ने तयारी गरेको छ। केन्द्रमा दरबन्दी कटौती गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई पुनःसंगठन तथा व्यवस्थापन ओएनएम सर्भे गर्न निर्देशन पठाएको छ। मन्त्रालयका अनुसार केन्द्रमा रहेको करिब ४७ हजार दरबन्दीलाई ३२ हजारमा झार्ने मन्त्रालयको उद्देश्य छ।
‘संघमा ४७ हजारको दरबन्दी एकदमै अनावश्यक रहेको महसुस भएको छ। त्यसैले संघमा ३२ हजारसम्म दरबन्दी झार्ने मन्त्रालयको उद्देश्य हो,’ संघीय मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भने, ‘संघमा दरबन्दी कटौती गर्न सबै मन्त्रालयलाई पुनः ओएनएम सर्भे रिपोर्ट बनाउन निर्देशन दिएका छौं।’ अधिकृतमुखी प्रशासन बनाउन तल्लो तहका कर्मचारी कटाउने तयारी भएको उनको भनाइ छ।
६ महिनाअघि संसद्को राज्य व्यवस्था समितिले संघमा दरबन्दी तत्काल घटाउन सरकारलाई निर्देशन दिएको थियो। समितिको उक्त निर्देशन कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः ओएनएम सर्भे गर्न सबै मन्त्रालयलाई निर्देशन पठाइएको थियो। मन्त्रालय स्रोतका अनुसार संघीय मन्त्रालयको निर्देशन पछि केही मन्त्रालयले दरबन्दी घटाउन नसक्ने जानकारी गराएका छन्।
अर्थ, गृह भौतिक पूर्वाधारलगायतका मन्त्रालयले उल्टै दरबन्दी थप्न आग्रह गर्दै संघीय मन्त्रालयमा प्रस्ताव गरेका छन्। अधिकृत तहका दरबन्दी बढाउन ती मन्त्रालयहरूको प्रस्ताव छ। उल्टै दरबन्दी थप गर्न माग गरेका मन्त्रालयलाई संघीयले पुनः ओएनएम सर्भे गरी दरबन्दी कटौती गर्न निर्देशन दिएको छ।नागरिक दैनिकबाट