काठमाडौं,पुस २० । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएका छन् । उनको धम्की पछि नगरकालिकाको काम एक हप्तादेखि ठप्प हुँदै आएको छ ।
सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाएका छन् ।आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्क्याउने गरेकोले आफू त्यस ठाउँमा बसेर काम गर्न नसकेको उनको भनाइ रहेको आजको नेपाल समाचारपत्रमा खवर छ ।