काठमाडौं, २० पौष । शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन् । घरायसी कारण देखाउँदै बुधबार उनले पदबाट राजीनामा दिएका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले एसपी गुरुङले राजीनामा दिएको पुष्टि गरे । ‘एसपी राजेन्द्र गुरुङले पदबाट राजीनामा दिएका हुन् । पत्रमा घरायसी कारण भन्ने उल्लेख छ,’ उनले भने ।
प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी सइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए । उनले कुनै एकेडेमिक अध्ययन गरेका भने होइनन् । नेपालकै एक निजी संगीत कला केन्द्रमा केही समय संगीत सिकेका गुरुङले सोही संस्थाको प्रमाणपत्रलाई आइएसरह भन्दै जागिर प्रवेश गर्दा बुझाएका थिए । सो प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट पढेको बराबर भएको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए । प्रहरीमा सेवा सुरु गर्दा उनको उमेर ३५ वर्ष थियो । सोही प्रमाणपत्रका आधारमा उनी इन्स्पेक्टर, डिएसपी हुँदै एसपीसम्म भए । अहिले उनी विद्यालयको एसएसपी पदमा एक्ला प्रतिस्पर्धी थिए । नेपाल प्रहरीले उनैका लागि विद्यालयमा एसएसपी पदको नयाँ दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।
त्रिविको पत्रपछि नैतिक संकटमा गुरुङ
गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रविरुद्ध उजुरी परेपछि प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा नेपाल प्रहरीले उनले बुझाएको प्रमाणपत्र ‘इक्विभ्यालेन्ट’ भएरनभएकोबारे त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको थियो ।
त्रिविले प्रमाणपत्र विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ नभएको पत्र पठाएपछि उनी संकटमा परेका थिए । प्रहरी स्रोतका अनुसार उनको शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि गृह मन्त्रालयमा समेत उजुरी परेको थियो । दबाबमा रहेका उनले सोही कारण पदबाट राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ ।
एसपी गुरुङले भने राजीनामालाई सामान्य रूपमा लिनुपर्ने बताए । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा बुझाएको जानकारी दिए । ‘म डाइबिटिजको बिरामी हुँ । उपचार गर्न अस्पताल धाउनुपर्ने भयो । सोही कारण पदबाट राजीनामा दिएको हुँ,’ गुरुङले भने । उनले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली नभएको दाबी गरे । उनी भन्छन्–‘जहाँसम्म शैक्षिक योग्यता प्रमाणपत्रको प्रसंग छ, त्यो बाहिर आएजस्तो होइन । हाम्रो पालामा जागिर खाने अलग्गै तरिका थियो । सबैले त्यसैगरी जागिर खाएका हुन् । मैले ३५ वर्षको उमेरमा जागिर खाएको हुँ । अब यसलाई के भन्ने ?’
त्रिविको पत्रपछि उनले न्यूनतम योग्यता पुरा नगरी जागिर खाएको प्रष्ट भएको छ । जसकारण अख्तियारले समेत उनीमाथि मुद्दा दायर गर्ने सम्भावना छ । आयोगले कीर्ते कागजपत्र पेश गरी जागिर खाएको आरोपमा डिएसपीहरु शिव बहादुर सिंह र रमेश बहादुर सिंहमाथि समेत छानबिन गरिरहेको छ । शिव बहादुर स्नातक उत्तिर्ण नगरी आवेदन दिएको र रमेश बहादुरले नागरिकतामा जन्ममिति कीर्ते गरेको आरोप लागेको छ ।-दृष्टि साप्ताहिकबाट