Logo

मनकारी गायिका पिंक



सिड्नी, पुस २१ ।अमेरिकी पप गायिका पिंकले अस्ट्रेलियाको फैलिएको आगलागी नियन्त्रणका लागि पाँच लाख अमेरिकी डलर सहयोग गरेकी छन्। अस्ट्रेलियामा फैलिएको आगलागीमा परेर करोडौं जंगली जनावर र पंक्षीहरुको मृत्यु भएको अनुमान गरिएको छ।

‘अस्ट्रेलियामा अहिले फैलिरहेको विनाशकारी आगलागीको भिडियोहरू हेरेपछि म मर्माहत भएको छु,’ पप गायिका पिंकले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेकी छन्, ‘यो आगलागी नियन्त्रणका लागि खटिइरहेका स्थानीय अगुवा र अग्नि नियन्त्रकहरूलाई पाँच लाख अमेरिकी डलर प्रदान गर्ने संकल्प गर्दैछु।’

अस्ट्रेलियामा आगलागीमा परेर करोडौं जंगली जनावर र पंक्षीहरुको मृत्यु भएको अनुमान गरिएको छ। युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टहरुको अनुमान अनुसार अहिलेसम्म करोडौं जनावारको मृत्यु आगोको सामना गर्दा गर्दै भएको हो। जसमा स्तनधारी पशु, पक्षी र घस्रने जीव पनि सामेल छन्। आगलागीका कारण अहिलेसम्म कम्तीमा २३ जना मानिसको मृत्यु भइसकेको छ।

आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिएको छ। झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गरिएको हो। यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए।

अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो। देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलोहरू नियन्त्रणभन्दा बाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस पुगेका विवरण प्राप्त भएका छन्।

आगो लागेका स्थानहरूमा अग्निनियन्त्रकहरूलाई स्वयंसेवकहरूले साथ दिइरहेका छन्। आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि इस्ट गिप्सल्यान्डबाट पर्यटक तथा नगरबासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिसकिएको छ। त्यस क्षेत्रमा करिब ३० हजार मानिस बसोबास गर्छन्।

तर, वनमा लागेका आगो र डढेलो प्रमुख राजमार्गसम्मै आइपुग्दा मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ। मेलबर्न शहरदेखि १६ किलोमिटर उत्तरतिर पर्ने बन्डूरामा पनि आगोले जनधनलाई जोखिम पुर्‍याइरहेका विवरण प्राप्त भएका छन्। दक्षिण अस्ट्रेलियाको एडेलेइड र तास्मानिया टापुमा पनि आगो निभाउने प्रयास जारी छन्।

गायिका पिंकले यसअघि सांगीतिक यात्राबाट ब्रेक लिने घोषणा गरेकी थिइन्। उनले कम्तिमा एक वर्षको लागि संगीत छाड्ने र सांगीतिक गतिविधिमा सक्रिय नहुने जनाएकी थिइन्। सन् १९९० देखि सांगीतिक क्षेत्रमा राज गरेकी गायिका पिंक दमबाट ग्रसित छिन्। संसारभरको लोकप्रिय गायिकाको सूचीमा परे उनका एल्बम सर्वाधिक बिक्री हुने गरेका छन्। उनको ‘रिजन’, ‘वाक मि होम’, ‘अस’, ‘सो ह्वाट’, ‘ब्युटीफुल ट्रमा’, ‘ब्लो मि’, ‘प्लिज’, ‘लभ’ लगायत गीतहरु चर्चामा छन्।



प्रतिक्रिया दिनुहोस्