Logo

प्रक्रिया मिचेर चीन सुपुर्दगी गरिंदा हतगडीसहित लगिए १२२ चिनियाँ



काठमाडौं, २४ पौष । नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँलाई प्रक्रिया मिचेर चीनलाई सुपुदर्गी गरिएको छ । अनुसन्धान नै नगरी पक्राउ परेकालाई बुधबार चिनियाँ अधिकारीलाई बुझाइएको हो ।

नेपाल सरकारले निष्काशन भने पनि चिनियाँ विमानमै लगेर उनीहरुलाई छाडियो । यसअघि निष्काशन गर्न नेपालमा ठूला अपराधमा संलग्न तथा इन्टरपोलले नोटिस जारी गरेकालाई मात्र निष्काशन हुन्थ्यो । तर, पक्राउ परेका चिनियाँलाई इन्टरपोलले नोटिस समेत जारी गरेको थिएन । नेपालमा अपराध समेत पुष्टि भएन ।

पक्राउ परेकाहरूलाई अध्यागमन विभागले निष्कासनको निर्णय थियो । १-१ हजार जरिवाना गराई निष्काशनको निर्णय भएको हो । अभद्र व्यवहार मुद्दामा आइतबार छुटेका उनीहरूलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो । पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासनको निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको थियो । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । ५० हजार रुपैयाँसम्म जरिवाना अध्यागमनले उनीहरूलाई गर्न सक्ने भएपनि दूतावासको दबाबमा न्यून मात्र जरिवाना गरिएको छ । जरिवाना दूतावासले तिरेको थियो ।

चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सको जहाज ल्याएर उनीहरुलाई हत्कडी लगाएर लगिएको हो । पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो ।

नेपाल र चीनबीच सुपुर्दगी छैन, जसकारण उनीहरूलाई औपचारिक रूपमा नेपालले चीनलाई बुझाउन मिल्दैन थियो । तर, औपचारिक जस्तै गरी चिनियाँलाई बुझाईको छ । अपराध गरेर लुक्न नेपाल आएका अन्य देशका नागरिकलाई पनि नेपालले यसैगरी सम्बन्धित देशलाई बुझाउने गछ । तर, इन्टरपोलले नोटिस जारी गरेकाको हकमा मात्र।

गत ७ पुसमा पक्राउ परेका चिनियाँहरूले काठमाडौंमा घर भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए । त्यसबापत हजारौँ चिनियाँ पीडित भएपछि चीनले नै नेपाली अधिकारीलाई सूचना दिएर यस्तो अपरेसनको आग्रह गरेको थियो । तर, योजनाअनुसार अपरेसन सफल हुन सकेन । थोरै मात्र पक्राउ परेको र सयौँ चिनियाँ भाग्न सफल भएका छन् । यसअघि मलेसिया, कम्बोडियालगायत देशबाट समेत चीनले यसैगरी आफ्ना देशका नागरिकलाई पक्राउ गरी स्वदेश लगेर कारबाही गरेको थियो ।-दृष्टिबाट  Photo Source: Bikash Dware



प्रतिक्रिया दिनुहोस्