Logo

अन्तर्राष्ट्रिय यात्रु घटे



काठमाडौं, पुस २५ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक ल्याउने लक्ष्य राखेका बेला मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशीयात्रु भने घटेका छन्।

अघिल्लो वर्ष सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४३ लाख ४२ हजार यात्रु नेपाल आएकामा गतवर्ष २०१९ को ११ महिनामा ३७ लाख ६७ हजार यात्रु भित्रिएका छन्। सरकारले अर्को एक महिनालाई जोड्दा यो संख्या ४१ लाख हाराहारी पुग्ने अनुमान गरेको छ। यही अनुमान गरिएको तथ्यांकलाई हेर्ने हो भने पनि अघिल्लो वर्षको तुलनामा गतवर्ष झन्डै तीनलाख यात्रु घटेका हुन्। सन् २०१७ को तुलनामा २०१८ माभने विमानस्थलबाट नेपाल आउने यात्रु ११।७ प्रतिशतले बढेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तर्फका यात्रुको संख्या भने बढेको छ। सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि र उडान विस्तारसहित नेपाल भ्रमणमा आउने २० लाख पर्यटकलाई आवश्यक पूर्वाधार तयार रहेको बताएको छ।

विमानस्थललाई बुटिकमा परिणत गरेर हाल २१ घन्टा सेवा दिइरहेको र २४ घन्टे सेवाको अवस्था बनिसकेकाले उक्त संख्या चाँडै बढ्ने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीको भनाइछ। २०१९ मा ४० वर्षदेखि त्यस्तै रहेको धावनमार्गको निमार्णका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटेको हुन सक्ने उनको भनाइ छ।

‘आशा गरिएका जेट एयरवेज,एयर एसिया लगायत ठूला विदेशी वायुसेवा कम्पनीले नेपाल उडान बन्द गर्नुले पनियात्रु संख्या घटेको हो,’ उनले भने, ‘जेट एयरवेजले दैनिक पाँचवटा उडानमार्फत वार्षिक तीनलाख हाराहारी यात्रु बोक्ने गरेको थियो।’

२०१८ को अन्त्यतिर एयर एसियाले पनि नेपाल उडान बन्द गरेका कारण त्यसको असर अन्तर्राष्ट्रिय यात्रुमा देखिएको उनले बताए। तर अहिले विमानस्थलको भौतिक प्रगतिलगायत केही विमान कम्पनीले नयाँ गन्तव्यमा उडान भर्न थालेका कारण २०२० भित्र उक्त संख्या स्वतः बढ्ने उनले विश्वास व्यक्त गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्