ओखलढुंगा, पुस २६ । जिल्ला समन्वय समिति ओखलढुंगामा रहेको १० करोड मूल्य बराबरको सरकारी सामान दुरुपयोग भएको पाइएको छ। समन्वय समितिमा रहेका तारजाली, जाली बुन्ने रोल–तार, खानेपानी पाइप, चार–पांग्रे तथा दुई–पांग्रे सवारीसाधन, फर्निचर, ल्यापटप, डेक्सटप कम्युटरलगायत विद्युतीय तथा निर्माण–सामग्री समितिले आफूखुसी व्यक्ति तथा संस्थालाई वितरण गरेको पाइएको हो।
समितिका पदाधिकारीले ४६ हजार एक सय १० किलो जाली बुन्ने रोल–तार, १४ हजार सात सय ३१ थान तयारी जाली समितिले सीधै व्यक्ति तथा संस्थालाई अनियमित ढंगले वितरण गरेका हुन्। बजार भाउअनुसार रोल–तारको करिब ६४ लाख ५५ हजार र तयारी तार–जालीको मूल्य आठ करोड ३९ लाख ६६ हजार रुपैयाँ पर्छ।
त्यसैगरी, समितिले १२ लाख रुपैयाँभन्दा बढी मूल्यको खानेपानीको पाइपसमेत समितिले विभिन्न व्यक्तिलाई वितरण गरेको छ। १६ देखी दुई सय एमएमसम्मको पाइप सीधै व्यक्तिलाई दिएको पाइएको छ। १६ एमएमको चार हजार पाँच सय, २० एमएमको पाँच हजार पाँच सय, २५ एमएमको तीन हजार नौ सय, ३२ एमएमको आठ सय, ४० एमएमको तीन हजार ६ सय, ५० एमएमको दुई सय, ६३ मिटरको तीन सय र दुई सय एमएमको ३४ मिटर पाइप तत्कालीन जिल्ला समन्वय अधिकारी नारायणप्रसाद मैनालीले सीधै वितरण गरेका हुन्।
स्थानीय एक हार्डवेयर व्यवसायीका अनुसार उक्त परिमाणको खानेपानी पाइपको मूल्य १२ लाख ३१ हजार रुपैयाँभन्दा बढी पर्छ। त्यसैगरी मैनालीले चार सय ३० वटा गल, तीन सय २४ वटा गैंती, तीन सय ६३ वटा बेल्चा, एक सय ७७ वटा फोरुवा, ४५ वटा हतौडी, दुई सय २९ वटा घन, दुई सय ४१ वटा कोदालो, एक सय ६१ वटा टकटके, १२ वटा बन्चरो, ४५ वटा सिलवरको गाग्री, दुई सय ६ वटा छिनो र ७७ वटा ह्वील–ब्यारोसमेत बाँडेका छन्।नागरिक दैनिकबाट