Logo

मन्त्रीलाई गाडीमाथि गाडी



जनकपुरधाम, पुस २६ । प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन्।

नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन्। मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज।१झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन्। आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन्। उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको खुलेको छ। मन्त्री साहले नयाँ गाडी ज।१झ ४४६ र एउटा अर्को प्रयोग गरिरहेका छन्। कानुनमन्त्री यादवले ज।१झ ४४२ नम्बरको गाडी प्रयोग गरिरहेका छन्।

महँगो गाडीको मोहप्रति वन राज्यमन्त्री सुरेश मण्डलले सार्वजनिक रूपमा विरोध जनाएका छन्। उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत त्यसमा असहमति जनाए।

‘प्रदेश २ सरकारमा काम न काजका दुस्मन अनाजका भनाइ चरितार्थ हुँदै छ। प्रदेश सरकारका कामकाजमा सिन्कासम्म भाँच्न नसकेका असफल मन्त्रीहरू महँगो गाडी किन्ने अस्वस्थ प्रतिस्पर्धामा जुटेका छन्। एक वर्षअघि मात्र किनेको गाडी पुरानो पनि भएको छैन। गाडीको कन्डिसन पनि बहुतै राम्रो छ।

प्रदेश सरकारको कामकाजको लागि काफी नै छ। बक्यौता रकम तिर्न बाँकी नै छ तर पनि मन्त्री पदको दुरुपयोग गर्ने, यस महŒवपूर्ण जिम्मेवारीलाई सुखसयल र मोजमस्तीको रूपमा लिने कतिपय मन्त्रीहरू गाडीको मोडेल हेर्न ब्रोसर पल्टाउँदै र सोरुम धाउँदै दिन बिताइरहेका छन्’, उनले फेसबुकमा लेखेका छन्, ‘दोस्रो चौमासिक बित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रमसमेत बनाउन नसकेका र गत आवका उपभोक्ताको समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीहरूलाई समेत छलेर भ्रष्ट कर्मचारीको मिलेमतोमा लाग्नु दुखद् हो।’अन्नपूर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्