Logo

वाग्मती सफाइ ३४८ औँ हप्तामा प्रवेश



काठमाडौँ, २६ पुस : पुसको चिसोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ताको शनिबारजस्तै आज पनि निरन्तररूपमा जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३४८ औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिंगाल पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा १८ संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएकोे छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको पनि सक्रियता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३१० औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा मुहानदेखि नै नदी सफाइ भन्ने नाराका साथ यस क्षेत्रको सफाइ भइरहेको छ ।

कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइमा करिब २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । रुद्रमती सफाइको ३०० औँ हप्तामा कालोपुलबाट ज्ञानेश्वर हुँदै मैतीदेवी मन्दिरसम्म सफाइ गरिएको छ । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानलगायत संस्थाका गरी १५० भन्दा बढी अभियानकर्मीका सक्रियता रहेको रोहित गिरीले जानकारी दिए ।

जति सफाइ गरे पनि विष्णुमती फोहर फाल्न नछोडेको, सिसडोल लैजाने क्रममा केही फोहर विष्णुमतीमा फालेकाले सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाएर छलफल गराउने अभियान स्थगित गरिएको छ । सफाइ संयोजक शोभाकान्त पाण्डेले दिएको जानकारीअनुसार विष्णुमतीको बहाव क्षेत्रका सबै स्थानीय तहलाई बोलाएर कार्यक्रम गर्ने तयारी भइरहेको सुनाए ।

चक्रपथ पश्चिम खण्ड सफाइको १२८ औँ हप्तामा पाटन क्षेत्रको सम्पदा पदयात्रामा सहभागी भएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। चक्रपथको कलङ्कीबाट महाराजगञ्जको क्षेत्रमा विस्तार शुरु भएकाले पनि सम्पदा यात्रामा सफाइ अभियानकर्मी सहभागी भएको उनले सुनाए ।

मनोहरा सफाइको १४७ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नीलो पुल क्षेत्रमा सफाइ गरियो । करिब १०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले राससलाई सुनाए ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका अरु नदी र चक्रपथ सफाइ अभियान शुरु भएको हो । वाग्मती सफाइ अभियानबाट प्रभावित भई हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान चलेको छ । अन्तको सफाइ अभियान एक दुई हप्ता रोकिने गरे पनि वाग्मती सफाइ अभियान भर्ने हिउँद, वर्षा, चाडपर्व जेसुकै परे पनि प्रत्येक हप्ताको शनिबार वाग्मती नदी किनारमा जारी छ ।

यसैगरी आज उपत्यकाका वाग्मतीको तिलगङ्गा, चक्रपथको उत्तरी भाग र सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ अभियान भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्