Logo

भक्तपुर दरबार क्षेत्र अस्तव्यस्त, किन हुन सकेन पुनर्निर्माण ? (भिडियोसहित)



पुष २७, काठमाण्डौ । भक्तपुर दरवार क्षेत्र विश्व सम्पदा सूचिमा सुचिकृत नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल हो । विश्वसम्पदा सूचिमा सुचिकृत हुनुले नै यसको महत्व झल्काउँछ । तर सरकारले भने नेपाल भ्रमण वर्ष मनाइरहँदा यो सम्पदा पुनः निर्माणमा ध्यान दिन सकेको छैन । दैनिक सयौँ विदेशी पर्यटक घुम्न जाने भक्तपुर दरबार क्षेत्र कस्तो छ त ?

२०७२ सालको भूकम्पले भक्तपुर दरबार क्षेत्रका महत्वपूर्ण संरचनामा क्षति पुर्याएको थियो । पर्यटकीयस्थलका हिसाबले निकै महत्वपूर्ण मानिने यो दरबार क्षेत्रको अहिलेसम्म करिब ६० प्रतिशत मात्रै पुनर्निर्माणका काम सकिएको छ । दरबार क्षेत्रको पाटी, पौवा, ढुंगेधारा लगायत साना आयोजनाका काम नगरपालिकाले पुरातत्व विभागसँग समन्वय गरेर सकाएको छ । अझै पनि महत्वपूर्ण संरचना अस्तव्यस्त छन् । भक्तपुरमा १०० भन्दा बढी मठ मन्दिर क्षतिग्रत भएका थिए । तर भुकम्पपछि पुनर्निर्माणका लागि सरकारले चासो नदिदा ढिलाई भएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको गुनासो छ ।
भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=JnG40z_FZ0Y&feature=youtu.be

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको छ । तर पर्यटकीय स्थललाई भने अस्तव्यस्त छोडेको छ । यसप्रति सर्वसाधारण पनि असन्तुष्ट छन् । दैनिक सयौँ विदेशी पर्यटक अहिले पनि भक्तपुर पुग्ने गर्दछन् । अस्तव्यस्त भक्तपुर दरबार क्षेत्र पुगेका विदेशी पर्यटकले समग्रमा भने नेपाल सुन्दर र घुम्न लायक देशको रुपमा अनुभव गरेको बताएका छन् ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रको ५५ झ्याले दरबार, पाँचतले मन्दिर, भैरवनाथको मन्दिर, टौमढी, दत्तात्रयजस्ता सम्पदा पर्यटकका लागि महत्वपूर्ण मानिन्छ । साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ । २० लाख पर्यटक भित्र्याउनका लागि यस्ता महत्वपूर्ण पर्यटकीय स्थलको व्यवस्थापनमा सरकारले ध्यान दिनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्