Logo

सभामुख चयन निर्णायक मोडमा



काठमाडौं, ५ माघ । आज पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गर्न नसके के होला ? यसका धेरै विकल्पबारे पनि सोच्न थालिएको छ ।

सभामुखमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका नाममा सहमत हुन सकेका छैनन् । प्रचण्डले अग्नि सापकोटाको नाम प्रस्ताव गरेका थिए । ओली सहमत हुन नसकेपछि विकल्पका रुपमा संसदीय दलबाट टुंगोमा पुग्ने प्रस्ताव राख्दैछन् । तर, प्रचण्डले पूर्व माओवादीले नै सभामुख पाउनुपर्ने अडान छाडेका छैनन् ।

सभामुख चयन गर्न नसक्दा संसदको हिउँदे अधिवेशन आरम्भ भएको ४ पौषयता बैठक बस्न सकेको छैन । बैठक पटक पटक सूचना टाँस गरी सारिएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने नेकपा सचिवालय बैठकको निर्णयका बाबजुद उनले मानेकी छैनन् । नेकपाभित्र ओली पक्षधरले शिवमायालाई राजीनामा दिन लगाउने निर्णय अवैधानिक भएको तर्क गरेका छन् । उपसभामुख भएपछि शिवमाया पार्टीको नहुने भन्दै यस्तो निर्देशन दिन नमिल्ने नेकपा स्थायी समिति सदस्य केशव बडालको तर्क छ ।

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन नमाने सभामुख नेकपाबाहेकको दलले पाउने विकल्प रहन्छ । संविधानमा एउटै दलबाट सभामुख र उपसभामुख नहुने व्यवस्था छ । त्यसैले तुम्वाहाम्फेलाई राजीनामा गराएर सभामुख आफ्नै बनाउने नेकपाको तयारी छ । त्यसका लागि तुम्बाहाम्फेको पनि दाबेदारी छ । नेकपाको एउटा पक्ष उनलाई राजीनामा नदिन भनिरहेको छ । यसले उक्त दलभित्र विवाद गहिरिएको छ ।

विकल्पमा ओलीले प्रचण्डले भनेको मान्नुपर्ने या प्रचण्डले ओलीले भनेको मान्नुपर्ने अवस्था छ । त्यसो नहुँदा नेकपाको संसदीय दलको बैठक या सचिवालय या स्थायी समिति बैठकमा पुगेर टुंगो लाग्छ । तर, प्रचण्ड अडान छाड्न तयार छैनन् । उनले चितवन पुगेर गत हप्ता एउटा चेतावनी दिएका छन् । सभामुखको विषयले केन्द्रीय राजनीतिमा संकट आएको बताए । सभामुखको मुद्दा यसरी नै अनिर्णित हुने हो भने नेकपाभित्र ओली र प्रचण्डबीचको द्धन्द्धले प्रधानमन्त्रीको कुर्सी समेत डगमगाउन सक्छ । विभाजनको सम्भावनालाई पनि नकार्न सकिदैन ।

राजनीति सम्भावनाको खेल भएकाले यसतर्फ नेकपाका कतिपय नेताहरु सचेत र सजग छन् । उनीहरु आज मध्यरातसम्म सभामुखको उम्मेदवार टुंगो लगाउन अगाडि बढेका छन् । अब संकट टारेर अगाडि बढ्न ओली र प्रचण्डमध्ये एक लचक नभई हुन्न । त्यसो नहुने हो भने नेकपा संकटमा धकेलिनसक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्