काठमाडौं, माघ ९ । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु कार्बन मोनोअक्साइड ग्यासको विषाक्तताले भएको प्रमाणित भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागले आठै जनाको शव परीक्षण अटोप्सी बाट मृत्युको कारण पहिचान गरिएको हो ।
‘मृतकको शरीरमा प्रतिरोध आदि कुनै चिनो थिएन, उनीहरूको पेनलेस डेथ दुखाइरहित मृत्यु भएको हो,’ विभागका डा। गोपालकुमार चौधरीले भने । यो ग्यास तेल, कोइला, दाउरालगायत इन्धन पूर्ण रूपमा नडढ्दा उत्पन्न हुन्छ ।
कोठा वा बन्द ठाउँमा अक्सिजन अभाव भएको समय कुनै वस्तुलाई डढाउँदा यो ग्यास बढी मात्रामा निस्किन्छ । बन्द कोठामा कुनै पनि प्रक्रियाद्वारा उत्पन्न हुने यो ग्यास स्वासप्रश्वासका माध्यमले फोक्सोमा पुगी रगतको हेमोग्लोबिनसँग मिसिन्छ र रगतमा अक्सिजनको मात्रा कम हुन्छ । अक्सिजन अभाव भएपछि शरीरका कोषहरू मर्न थाल्छन्, यसले सबै अंग प्रभावित हुन्छन् ।
फरेन्सिक मेडिसिन विभागका अनुसार यस वर्ष यो ग्यासको विषाक्तताले मृत्यु भएको प्रमाणित भएका २२ जना पुगिसकेका छन् । गत वर्ष १७ जनाको मृत्यु भएको थियो ।कान्तिपुर दैनिकबाट