काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रेस स्वतन्त्रताकोे रक्षाका लागि पत्रकार एकजुट हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको ‘वृहत् वनभोज’ कार्यक्रममा उनले सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरेको आरोप लगाएका हुन् ।
“आफ्नो अधिकारका लागि देशभरका पत्रकार एक हुनुहो,” उनले भने । नागरिक अधिकारलाई अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याउन खोजेको उनको भनाइ छ । काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले प्रजातान्त्रिक अधिकारलाई साँघुरो बनाउँदै लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाए । “अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि पत्रकार जगत् लाग्नुपर्छ”, उनले भने ।
काँग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, दीपक गिरी, कल्याणकुमार गुरुङ, भीष्मराज आङदेम्बेलगायतले मुलुकको लोकतन्त्र रक्षाका लागि नेपाल प्रेस युनियनले खेलेको भूमिकाको सराहना गरेका थिए । file photo