Logo

भाग्यले सभामुख बनेका अग्निको चुनौती (भिडियोसहित)



माघ १२, काठमाण्डौ । प्रतिनिधिसभाको सभामुखमा नेकपाले उम्मेदवार बनाएका अग्नी सापकोटा निर्विरोध निर्वाचित भएका छन् । लामो समयको विवाद र रस्साकस्सीपछि नेकपाले सभामुखमा सापकोटालाई उम्मेदवार बनायो । संसदमा रहेका अन्य दलले उम्मेदवार बनाएनन् । अर्थात सापकोटालाई नै समर्थन गरेको जस्तो देखियो । तर अबका दिनमा पिष्पक्ष र तटस्थ रहेर संसदको नेतृत्व सापकोटालाई सहज भने हुने छैन ।

सापकोटा अपवाद र भाग्यले सभामुख बनेका पात्र हुन् । यौन काण्डमा कृष्णबहादुर महरा नफसेको भए सापकोटाले यो अवसर पाउने थिएनन् । महराले दलीय आस्थाअनुसार प्रतिपक्षी दलको भावनालाई सम्मान गर्न नसकेको आरोप लागेको थियो ।

उक्त विगतलाई नजरअन्दाज गरे भने सापकोटा असफल हुन सक्छन् । नेपालको संसद सर्वोपरी छ । जनताले मत दिएर पठाएका प्रतिनिधिहरु सांसदको रुपमा नीति निर्माणमा सक्रिय हुनुपर्छ । संसदबाट नै संविधानबामोजिमका कानुन निर्माण हुने गर्दछ । जनताको समस्या सरकार समक्ष पु¥याउने माध्यम पनि संसद हो । त्यसैले संसदको गरिमा कायमा राख्नु ठूलै चुनौति देखिन्छ ।

प्रतिनिधिसभाको एउटै अवधिमा दोस्रो सभामुख बनाउनुपर्ने बाध्यात्मक परिस्थितले सापकोटालाई गरिमामय पद प्राप्त भएको छ । यस्तो अवस्थामा सत्तारुढ दल र प्रतिपक्षी दलहरुबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई समान व्यवहार गरेर अघि बढ्न सके सापकोटाले पाएको अवसर सार्थक बन्न सक्छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी रहँदा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु सापकोटाका लागि चुनौतीपूर्ण छ । साथै प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु अर्को चुनौति हो । संसदमा रहेका विवादित विधेयकहरुको छलफल हुन बाँकी नै छ । त्यसबेला सभामुखको समन्वयकारी भूमिका निकै महत्वपूर्ण हुने भएकाले त्यसतर्फ सचेत हुन सांसद प्रकाश रसाइली स्नेहीको सुझाब छ ।

सभामुखले दलीय नियन्त्रणभन्दा माथि रहेर महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा अर्की सांसद शान्ता चौधरी बताउँछिन् । संविधान तथा ऐनबमोजिम सभामुखले आफ्नो जिम्मेवारी भूल्न नहुने चौधरीको भनाई छ ।

संसद्मा पेस भएका कतिपय विधेयक विवादमा परेका बेला तिनलाई सुझबुझका साथ अघि बढाउने जिम्मेवारी पनि पूरा गर्नुपर्ने छ । साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो पनि सभामुख सापकोटामाथि हुने नै छ । पार्टीले विश्वास गरेको तर धेरैले पत्याउन नसकेका सापकोटाले अब सभामुखको भूमिकामा सफल हुनका लागि आफूलाई केन्द्रित गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्