Logo

उपसभामुखमा राजापाका चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चा, दुवैको लबिङ सुरु



काठमाडौं, १२ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले आज सभामुख पाएको छ । नेकपाका उम्मेद्धवार अग्निप्रसाद सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भएका छन् । नवनिर्वाचित सभामुख सापकोटाको पद तथा गोपनियताको सपथ भोलि (सोमबार) हुने भएको छ ।

प्रतिनिधिसभाले सभामुख पाएसँगै अबको चर्चा उपसभामुखमा कसले बाजी मार्ला ? भन्नेमा केन्द्रित छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपसभामुख कसलाई दिने भन्नेबारे अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन् । यो बीचमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटेका छन् । कतिपयले उक्त भेटवार्तालाई लिएर कांग्रेसले उपसभामुख मागेको भन्नेपनि टिप्पणी गरेका थिए ।

तर, आजको संसद बैठकमा बोल्दै कांग्रेस सांसद तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले आफ्नो दलले उपसभामुख कमण्डलु बोकेर भीख नमाग्ने स्पष्ट पारिदिए । यसले पनि अब उपसभामुखमा कांग्रेसको कुनै दाबी नरहेको स्पष्ट हुन्छ । नेकपाले उपसभामुख राजपा नेपाललाई दिन खोजेको भनेर पनि चर्चा तथा परिचर्चा सुरु भैसकेको छ । यसको संकेत प्रदेश नम्बर २ मा हालै सम्पन्न राष्टियसभाको निर्वाचनमा नेकपा र राजपाले गरेको तालमेलले स्पष्ट पार्छ ।

उपसभामुख राजपालाई दिन प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीसमेत सहमत छन् । राजपाभित्र पनि उपसभामुखमा कसले बाजी मार्छ ? यो अहिले एकिन भएको छैन् । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङको हुनुपर्नेछ । सभामुखमा नेकपाका उम्मेद्धवार सापकोटा निर्विरोध निर्वाचित भैसकेका छन् । अब उपसभामुखको लागि फरक दल र महिला सांसद चाहिन्छ । राजपा नेपालभित्र उपसभामुखको लागि महिला सांसदद्धय चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चामा छ ।

उनीहरुले आफूलाई उपसभामुख बनाउनुपर्ने भन्नेबारे भित्री तयारीसमेत थालिसकेका छन् । कतिसम्म भने चौधरीको त नाम यसअघि देखि नै चर्चामा छ । उनले यसअघि सहायकमन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छिन् । आज काठमाडौंस्थित् भारतीय दुतावासले मनाएको आफ्नो ७१ औं गणतन्त्र दिवसमा समेत उपसभामुखमा चौधरीको नाम चर्चामा थियो । उक्त कार्यक्रममा सांसद चौधरीपनि सहभागी थिईन् । उपराष्टपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्री, सांसद तथा नेताहरुको पनि बाक्लो उपस्थिति थियो । त्यही कार्यक्रममा नेपाली नेताहरुले उपसभामुखमा चौधरीको नामको बारेमा चर्चा गरेका थिए ।

उता, राजपाभित्र उपसभामुखको लागि अर्की सांसद कपिलवस्तुकी अमृता अग्रहरिले पनि भित्री तयारी गरेको बुझिएको छ । यदि उपसभामुख राजपालाई दिईयो भने सांसद चौधरीले नै बाजी मार्ने धेरैको अनुमान छ । चौधरीलाई उपसभामुख बनाउनको लागि राजपाका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महन्थ ठाकुरले पनि चाहेका छन् ।



प्रतिक्रिया दिनुहोस्