काठमाडौं, १७ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले उच्च प्रहरी अधिकृतहरुको सरुवा बढुवामा चासो लिन छाडेपछि नक्शाल देखि गृहमन्त्रालयसम्म धेरैको कान ठाडो भएको छ । सरकारले ३० वर्षे सेवाहद नहटाउने र नियमावलीमा समेत अहिले यताउता नगर्ने निश्चित भएपछि २८ माघबाट खनाल सेवानिवृत्त हुँदैछन् । त्यस अगावै खाली रहेको एक डिआइजीसहित एसएसपीहरुको बढुवाको चर्चा चलेपनि खनालले त्यसमा खासै चासो देखाएका छैनन् ।
डिआइजी बन्न दुईवटा ब्याचका वरिष्ठ एसएसपीहरु दौडमा छन् । जसमा गणेश ऐर, उत्तमराज सुवेदी, धीरजप्रताप सिंहहरुको एउटा समूह नै छ । यसअघि उत्तम र धीरजप्रतापको ब्याचबाट विश्वराज पोखरेलले बाजी मारेर आफूभन्दा अघिल्लो ब्याचलाई समेत पछि पार्दै डिआइजी बन्न सफल भएका थिए । अहिले पनि त्यसरी नै बढुवा हुने प्रयास पछिल्लो ब्याचले गरिरहेका छन् । घर जाने बेलामा विवादमा नपर्न खनालले डिआइजी बढुवामा खासै चासो देखाएका छैनन् । बरु आफूसहित ब्याची एआइजी र डिआइजी सेवानिवृत्त भएपछि खाली सिटमा एकैपटक बढुवा होस् भनेर मौनता साँधेका छन् ।
विश्वराज पोखरेलले बाजी मारेपछि एसपी र एसएसपीहरुको ब्याचमा पनि त्यसरी नै अघिल्लो ब्याचीलाई उछिन्ने प्रयास भइरहेको छ । एसएसपी बढुवामा केही अधिकृतहरुले अघिल्लो ब्याचीलाई पछि पारेका थिए । प्रहरीको उच्च पदमा राजनीतिक पहुँच र प्रभावको पनि भूमिका हुने भएकाले नेताहरुको घर घरमा दौडधुप चलिसकेको छ । तर, आइजीपी खनालले उच्च अधिकृतहरुको बढुवा गरिहाल्ने प्रक्रिया थालेका छैनन् । बरु उनी सामाजिक कार्यक्रममा बढी सक्रिय भइरहेका छन् । सुदुरपश्चिममा छाउपीढी गोठ भत्काउने अभियानमा पुगेर आए ।
एसएसपी बढुवामा अघिल्लो ब्याचीलाई पछि पारेर अघि बढ्ने कर्मचारी प्रशासनका एसपी चन्द्रकुवेर खापुङ पनि हेरेको हेरै भएका छन् । एसएसपी बढुवा अबको एक हप्ता रोकिएमा उनको केही नलाग्ने देखिएको छ । गृहसचिव प्रेमकुमार राईका विश्वासपात्र भएकाले उनको हेडक्वार्टरमा बलियो प्रभाव थियो । तर, राई २२ माघबाट सेवानिवृत्त हुँदैछन् । त्यसैले पनि खापुङलाई पहिलेभन्दा नक्शालभित्र गन्न छाडिएको स्रोतले जानकारी दियो । बरु उनको ठाउँमा जान अन्य एसपीहरु दौडधुप गर्न थालिसकेका छन् । खापुङ लामो समय कप्रमा बसेर प्रभाव जमाउन सकेका थिए । उनले राम्रो अर्थोपार्जन गरेपनि भविष्यमा आइजीपी बन्ने सम्भावितहरुलाई भेन चिढ्याएको बुझिएको छ ।
खनालसहित तीन एआइजी र १७ डिआइजीको एकैसाथ अवकाश हुँदैछ । त्यसपछि आइजीपीको बन्नेमा ठाकुर ज्ञवाली नै छन् । उनी वर्तमान आइजीपी खनालले रुचाएकामा पर्छन् । ज्ञवालीको राजनीतिक पहुँच पनि बलियो छ । ज्ञवालीको पछिल्लो ब्याचीका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की हालको प्रहरी नियमावली कायम रहेमा अबको छ महिनापछि आइजीपी बन्छन् । त्यसपछि विश्वराज पोखरेलको पालो आउँछ । तर, पोखरेल अहिले देखि नै दाबेदार बनिसकेका छन् । विगतमा आफ्ना ब्याचीलाई पछि पारेकाले उनीसँग शैलेश र हरि पालको ब्याचीहरु सतर्क भइसकेका छन् ।-File Photo