Logo

सत्ताको लोभले राजपामा विवाद, समाजवादीसँग बोलचाल बन्द



माघ १७, काठमाण्डौ । रसत्तारुढ दल नेकपाले राजपालाई सरकारमा सहभागि गराएर संसदमा दुई तिहाई बहुमतको साथ लिन चाहन्छ । तर सरकारमा जाने विषयलाई लिएर राजपाभित्र मतभेद उत्पन्न भएको छ । पार्टीभित्रै आन्तरिक छलफल र निर्णय नै नगरी एक पक्ष सरकारमा जाने र अर्को पक्षमा तत्काल सहभागि हुन नहुने तर्क गरिरहेका छन् । राजपा संघीय सरकारमा सहभागि हुने विषयले प्रदेश दुईमा भएको समाजवादी पार्टी नेपालसँगको गठबन्धनमाथि पनि प्रश्न उठेको छ ।

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि केपी ओली नेतृत्वको सरकारलाई संसदमा साधारण बहुमत मात्रै छ । दुई तिहाई बहुमत प्राप्त गर्ने पहिलो विकल्प भनेको राजपाको समर्थन प्राप्त गर्नु हो । त्यसैले सत्तारुढ दल नेकपा रजपालाई सरकारमा सहभागि गराउन चाहन्छ ।

राजपाकै लागि भनेर प्रधानमन्त्री ओलीले दुई वटा मन्त्रालय खाली राखेका छन् । राष्ट्रियसभाको चुनावमा नेकपाले राजपासँग गठबन्धन गरेर संघीय सरकारमा सहभागि हुन निम्तो दिइसकेको छ । तर राजपाभित्र सरकारमा सहभागि हुने विषयमा एकमत हुन सकेको छैन । राजपाका वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लालले संघीय सरकारमा जाने विषय हल्ला मात्रै भएको बताउँछन् । केही नेताहरुले निजि स्वार्थका लागि सरकारमा जाने हल्ला फिजाएको उनको आरोप छ ।

यता राजपाका महासचिव केशव झा भने सरकारमा जानुपर्ने पक्षमा देखिन्छन् । नेकपासँग पछिल्लो समय विश्वासको वातावरण बनेको दावी गर्दै झाले आफूहरुले उठाएका माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागि हुनुपर्ने बताए ।

राजपाका संयोजक महेन्द्र राय यादव तत्काल सरकारमा जान नहुने पक्षमा र पूर्व संंयोजक राजेन्द्र महता सरकारमा सहभागि हुने पक्षमा रहेको बताइएको छ ।

समाजवादी सरकारबाट बाहिरिएसँगै राजपा सहभागि हुने विषय चर्चा आएपछि प्रदेश नम्बर दुईमा पनि यि दुई दलबीचको गठबन्धन भत्किने हो कि भन्ने आशंका उब्जिएको छ । प्रदेश दुईमा समाजवादीलाई हटाएर नेकपा प्रवेश गर्ने चर्चालाई वरिष्ठ उपाध्यक्ष लालले अस्वीकार गरेका छन् ।

समाजवादी र राजपाबीच बेलाबेलामा तिक्तता उत्पन्न भएको स्वीकार गर्दै उनले प्रदेश दुईको गठबन्धन नै भत्किने अवस्था भने नरहेको दावी गरे ।

यसैबीच आजै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले राजपाको शर्त अनुसार नै सरकारबाट बाहिरिएको भएपनि राजपाले बोलचाल नै बन्द गरेको आरोप लगाएका छन् ।

नेपाल मधेशी निजामति कर्मचारी मञ्चको १३ औं स्थापना दिवकसा अवशरमा यादवले पार्टी एकताका लागि भनेर राजपाको शर्त अनुसार सरकार त्यागेपनि अहिले कुरा नै हुन नसकेको बताएका हुन् ।

आफुहरुले सरकार छाडेको भोलिपल्ट एकता घोषणा हुने विश्वास लिएपनि भेटघाट नै बन्द भएको उनले बताए ।

राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले उपेन्द्रको कुराको खण्डन गर्दै द्वन्द्वकालमा एक अर्कालाई छातीमा गोली हान्ने एमाले र माओवादीको एकता सम्भव भएको अवस्थामा समाजवादी र राजपाको पनि एकता सम्भव रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि पनि दुई पार्टीको एकता अनिवार्य रहेको उनले बताए ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच पार्टी एकताको बहस लामो समयसम्म चलेपनि सम्भव भएको छैन् । पार्टी एकता गर्ने सन्दर्भमा पत्रहरु साँटासाँट भएपनि एकता सम्भव भएको थिएन् । राजपाले पार्टी एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने शर्त अघि सारेपछि एकता प्रकृया अगाडी बढ्न सकेको छैन ।

मधेशी जनताको समस्यालाई समाजवादी र राजपाले प्राथमिकतामा राखेका छन् । दुवै दलले संविधान संशोधन गरेर सबै नेपालीले मेरो भन्न सक्ने संविधान बनाउनुपर्ने माग गर्दै आएका छन् । तर संसदमा बलियो अवस्थामा रहेको नेकपा उनीहरुले भने जस्तो गरी संविधान संशोधन गर्न तयार देखिदैन । यही संविधान संशोधनको एजेण्डाले नेकपा, समाजवादी र राजपाबीचको सम्बन्धमा उतारचढाब आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्