काठमाडौं, माघ १९ । गृहसचिव प्रेमकुमार राईले सचिव पदबाट राजीनामा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गर्ने तयारी भएको छ । उनले आगामी २२ माघमा अनिवार्य अवकास पाउने भए पनि पाँच दिनअगाडि राजीनामा दिएका छन् ।
सरकारले राईको २० माघदेखि लागु हुनेगरी राजीनामा स्वीकृतसमेत गरिसकेको छ । अख्तियारमा दुई आयुक्त पद रिक्त रहेको अवस्थामा सरकारले राईलाई सिफारिस गर्ने तयारी गरेको छ । स्रोतका अनुसार केही दिनमै संवैधानिक परिषद्को बैठक राखेर राईलाई आयुक्तमा सिफरिस गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र गृहसचिव राईलाई प्रमुख आयुक्त बनाउने विषयमा अन्य मन्त्रीहरूसँग पनि छलफल गरिसकेका छन् ।