Logo

बानेश्वर र कोटेश्वर चोकका आकासे पुल अलपत्र



काठमाडौं, माघ १९ । पैदल यात्रुको उच्च चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले राजधानीको बानेश्वर चोक र कोटेश्वर चोकमा बनाउन खोजेका आकासे पुल अलपत्र बनेका छन्। मुलुकमा आयोजना समयमा नबन्ने रोग यी पुलमा पनि देखिएको छ। ठेक्का सम्झौता अनुसार बानेश्वर चोक र कोटेश्वर चोकका आकासे पुल निर्माणको अवधि गत पुसभित्र हो। ठेक्का सम्झौताको समय सकिँदा पुल तयार हुनुपर्ने थियो।

मुलुकका अन्य आयोजनामा जस्तै यहाँ पनि काम नहुनुमा एक पक्षले अर्को पक्षलाई दोष दिइरहेका छन्। विगतमा जस्तै टेलिफोन, तार, बिजुलीका पोल, बनाउने क्षेत्रलगायत कुरालाई अगाडि सारेर काम गरिएको छैन। यी पुल निर्माण गर्न ठेक्का पाएको कम्पनी पवन तथा प्राकृतिक जेभी हो।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार बानेश्वर चोकमा टेलिफोन र भूमिगत ट्रान्सफर्मर लाइनको अवरोध समयमा हटाउन र पुलको डिजाइन पुनः रिभ्यू गर्नु परेकाले तोकिएको समयभित्रै निर्माण हुन नसकेको हो। गत चैतमा बानेश्वर चोक र कोटेश्वर चोक दूवैमा पुल निर्माण गर्ने ठेक्का पवन–प्रकृति जेभीले पाएको थियो। बानेश्वरचोकको पुलको ठेक्का सम्झौता दुई करोड चार लाख रुपैयाँमा भएको थियो। उक्त पुलको लम्बाइ ३८ मिटर रहेको छ।

बानेश्वरमा बनाउने भनिएको पुलको अहिले बल्लबल्ल पिल्लर उठ्दैछ। कोटेश्वरमा भने सुरसारै छैन।कार्यालयका अनुसार हालसम्म बानेश्वरचोकको स्काई ब्रिजको प्रगति ४० प्रतिशत भएको छ। कोटेश्वरचोकमा निर्माणाधीन पुलको अहिलेसम्म जगको कामसमेत सुरु नभएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्