बागलुङ, १९ माघ : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक विजेता जिल्लाका तीन खेलाडीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
कराँतेका स्वर्ण पदक विजेता तमानखोला गाउँपालिका–२ का नवीन रसाइली, भलिबलमा रजत पदक विजेता गलकोट नगरपालिका–१० की सुस्मिता पुन, कराँतेमै कास्यपदक विजेता तमानखोलाकै राजकुमार रसाइलीलाई क्रमशः नगद रु १० हजार, सात हजार ५०० र पाँच हजारसहित सम्मान गरिएको हो ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घ बागलुङको संयोजनमा यहाँ जारी दोस्रो बागलुङ मेयरकप राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायतले संयुक्तरुपमा नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।
खेलका माध्यमबाट जिल्ला र देशकै गौरव बढाएका खेलाडीलाई सम्मान गरिएको नगरप्रमुख पौडेलले बताए । सोही अवसरमा नेपाल कराँते सङ्घ बागलुङले पनि कराँतेमा पदक विजेता नवीन र राजकुमारलाई जनही रु पाँच हजारसहित सम्मान गरेको थियो । नवीन र राजकुमार एकाघरका दुई भाइ छन् । हाल काठमाडौँमा बस्दै आउनुभएका रसाइली दाजुभाइ विगत १२ वर्षदेखि कराँते खेलमा आबद्ध छन् । यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकूदमासमेत नवीनले स्वर्ण र राजकुमारले रजत पदक जितेका थिए ।रासस