काठमाडौं, २० माघ । ललितपुरको सातदोबाटोमा सार्वजनिक बाटो मिची सरकारी जग्गा हडपेर घर बनाइ व्यक्तिले उपभोग गरिरहेको पाइएको छ । उच्च आदेश पाटनको आदेशविपरीत ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोमा राजेन्द्र खड्गी र दीलबहादुर खड्गीले सरकारी जग्गा हडपेर संरचना बनाएको पाइएको हो ।
उच्च अदालतले कित्ता नम्बर ४ सय ८६ र कित्ता नम्बर ४ सय ८७ को उक्त जग्गा प्रति सार्वजनिक देखिएकाले उक्त ठाउँमा कुनै संरचना निर्माण नगर्नू, नगराउनू भनी दिएको आदेशको अवज्ञा गर्दै नयाँ संरचना बनाइएको पाइएको छ । उच्च अदालत, पाटनले २०७३ चैत्र १७ गते उक्त सार्वजनिक जग्गा भवनको दायाँ बायाँ कुनै संरचना निर्माण नगर्नू भनेपनि उनीहरुले वडाध्यक्ष कै मिलेतोमा संरचना बनाएको स्थानीयको आरोप छ ।
सार्वजनिक जग्गामा बनेको भवनमा रहेको सातवटा सटरबाट उनीहरुले मासिक करिब दुई लाख आर्थिक लाभ लिइरहेको स्थानीयको भनाइ छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले मंसिर १७ मा ललितपुर महानगरपालिका र १५ वडा कार्यालयलाई पत्र लेख्दै अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ । तर जिल्ला प्रशासन कार्यालयको निर्देशन नटेरी वडा कर्यालय र खड्गी परिवारको मिलेमतोमा गैरकानुनी रुपमा टस्ट हालेर नयाँ भवन बनाएको स्थानीयको आरोप छ ।
खड्गी परिवारले सार्वजनिक बाटो र जग्गा मिचेर मासुपसल सञ्चालन गरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी हालेका छन् । सातदोबाटो लगनखेल सडकमा नै जोडिएको उनीहरुको भवन जोगाउनका लागि बाटोमा मापदण्ड समेत घटाइएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुको भनाइ छ ।
अन्यको हकमा २० मिटरको मापदण्ड रहेको उक्त बाटो खड्गी परिवार, वडा कार्यालय र महानगरपालिकाको मिलेमतोमा साढे १४ मिटर कायम गरिएको पाइएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए । उक्त सार्वजनिक जग्गामा बनेको भवनमा सञ्चालित दिपावली पुस्ताकालयमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा हालिएको उजुरीमा भ्रष्टाचार भएको उल्लेख छ ।
वडा कार्यालय कै मिलेमतोमा करिब ७० लाख हिनामिना भएको स्थानीयको आरोप छ । उनीहरुले खड्गी दाजुभाइले पुस्ताकालयको नामबाट अकुत सम्पत्ति कमाएको र राज्यलाई कर समेत नतिरेकाले सम्पत्तिको स्रोतमाथि छानबिन गर्नसमेत माग गरेका छन् ।