Logo

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु



२० माघ । इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन् ।

मृत्यु भएकाहरुमा ५१९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन् । आयोगका अनुसार घाइते भएकामध्ये २० हजार २६ जना प्रदर्शनकारी र ३ हजार ५१९ जना सुरक्षाकर्मी रहेका छन् ।

आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७१३ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताए । पक्राउ परेकामध्ये हाल ३२८ जना थुनामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा राजधानी बग्दाद र अरु शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरुले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्