Logo

ए डिभिजन उपाधी यात्रा : मनाङ कमजोर, आर्मी र मछिन्द्र बलियो



माघ २२, काठमाण्डौ । काठमाण्डौमा जारी ए डिभिजन फुटबलको दशौँ चरण सकिएको छ । नवौँ चरणसम्म अपराजित रहेको मनाङ मस्र्याङ्दी दशौँ चरणमा पराजित भयो । अब तीन खेल मात्रै बाँकी छ । उपाधि होडमा त्रिभुवन आर्मी र मछिन्द्र बलियो देखिएका छन् ।

लिगको दशौं चरणको खेलमा च्यासल युथसँग २–० गोल अन्तरले पराजित भएसँगै मनाङ उपाधि होडबाट कमजोर बनेको हो । अब उपाधिको सम्भावना अन्य क्लबको नतिजामा निर्भर हुने भएको छ । पहिलो हारसँगैे शीर्ष स्थानको आर्मीसँग मनाङ ४ अंकले पछि छ । लिगको दशौंं चरणको समाप्तीसँगै उपाधि होडमा त्रिभुवन आर्मी र मछिन्द्र बलियो देखिएका छन् ।

यद्धपी उपाधि दौडमा आर्मीको हात माथि देखिएको छ । शीर्ष स्थानको आर्मी भन्दा मछिन्द्र मात्र एक अंकले पछाडी छ । समान १० खेल खेलेको आर्मीको २३ अंक र मछिन्द्रको २२ अंक छ । च्यासलको हारसँगै मनाङले आर्मीसंग दुरी घटाउने अवसर गुमायो । संगै मछिन्द्रसँग अंक बराबरी गर्ने अवसर खेर फाल्यो ।

यसअघि बलियो मानिएको थ्री स्टार नवौं चरणमा मछिन्द्रसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । दशौं चरणसँगै साविकको विजेता मनाङ पनि लगभग उपाधि होडबाट बाहिरिएको छ । मनाङ उपाधि होडमा फर्कन बाँकी तीन खेलमा मछिन्द्र र आर्मीले हार ब्यहोर्नुपर्नेछ । सोमबार मात्र विभागीय डर्बीमा पुलिसमाथि जित निकाल्दै आर्मी शीर्ष स्थानमा फर्कियो र दोस्रो स्थानको मछिन्द्रसंग एक अंकको अग्रता लियो । त्यसको एक दिन अघिमात्र विभागीय एपीएफमाथि पुनरागमन जित निकाल्दै मछिन्द्र कम्तिमा एक दिनको लागि शीर्ष स्थानमा पुगेको थियो ।

आर्मी २३ अंक सहित शीर्ष स्थानमा छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शन कारण ऋण बोकेर लिगको सुरुवात गरेको मछिन्द्र २२ अंक सहित दोस्रो स्थानमा छ । मनाङ १९ अंक सहित तेस्रो स्थानमा छ । सरस्वतीविरुद्ध ४–० को जित निकालेको थ्री स्टार १७ अंक सहित चौथो स्थानमा छ । समान १५ अंक जोडका संकटा, जावलाखेल र एनआरटी क्रमश पाँचौ, छैटौं र सातौ स्थानमा छन् । हेड टू हेडका आधारमा तीन क्लबको स्थान निर्धारण भएको हो ।

समान १४ अंक भएका पुलिस र फ्रेन्ड्स क्रमश आठौं र नवौं स्थानमा छन् । दशौं चरणको अन्तिम खेलमा जित निकालेर रेलिगेशन क्षेत्रबाट बचेको च्यासल १२ अंक सहित दशौं स्थानमा छ । ब्रिगेड ब्वाईज ८ अंक सहित ११ औं, हिमालयन शेर्पा ७ अंक सहित १२ औं र एपीएफ ५ अंक सहित १३ औं स्थानमा छ । मात्र एक जित निकालेको सरस्वती रेलिगेशन क्षेत्रमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्