काठमाडौं, माघ २३ । नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गरेर कहाँ राख्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन। सोही विषय टुंग्याउन सरकारी निकाय तथा अधिकारीहरूबीच बुधबार बैठक बसे पनि सहमति जुट्न सकेन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बुधबार सरकारका उच्च अधिकारीहरूबीचको बैठकले चीनबाट फिर्ता ल्याएकालाई कहाँ राख्ने भन्ने टुंगो लगाउन नसकेको बताए। उनले ठाउँ टुंगो लगाउन बिहीबार फेरि बैठक जानकारी दिए।
‘चीनबाट विमान चार्टर गरेर ल्याएकालाई राख्न विभिन्न ठाउँको चर्चा भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठकले ठाउँ यकिन गर्न सकेन, फेरि अर्को बैठकबाट यसको टुंगो लाग्छ होला।’ राख्ने ठाउँको टुंगो नलागेसम्म फिर्ता ल्याउने कामसमेत नहुने पनि उनले स्पष्ट पारे। कम्तीमा १५ दिन निगरानीमा राख्नुपर्ने भएकाले ठाउँको टुंगो नलागी फिर्ता ल्याउँदा समस्या हुने प्रवक्ता श्रेष्ठको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।