काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजपनि संसद बैठक अवरुद्ध गरेको छ । आफ्नो सदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको विरोधमा आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले बोलेका थिए । उनले आफूहरुले संसद अवरुद्ध गर्नु रहर नभइ बाध्यता भएको बताएका थिए । उनले भने,‘भ्रष्टाचारमुक्त समाजको अन्त्य र विधिको शासन स्थापना गर्ने उद्देश्यका साथ कांग्रेस सरकारले नै ऐन ल्याएर अख्तियारको स्थापना गरेको हो ।’
विश्वकर्माले अख्तियार आफैंले आफ्नो अख्तियार दुरुपयोग गरेको भन्दै संसद अवरोध गर्नुपरेको बताए। उनले भने, ‘जुन प्रधानमन्त्रीले त्यो निर्णय गर्नुभयो। उपलब्धीका रुपमा लिनुभयो। मुख्यसचिव जसले गुरुयोजनाको परिकल्पना गर्नुभयो, उहाँले गौरवमय भन्नुभयो । योजना पेश गर्नेले उन्मुक्ति पाउने, महान् व्यक्ति हुने। जो लाभावान्वित हुनुभयो, लालपुर्जा बोकेर हिँडिरहनुभएको छ, उहाँ पनि महान् व्यक्ति । जसको मन्त्रालयभित्र उक्त काम पर्दैन, ऊ कसरी दोषी?’
कांग्रेसले संसद अवरोध गरिरहेपछि सभामुख अग्नि सापकोटाले आधा घन्टाका लागि संसद स्थगित गरेका छन् । सभामुख सापकोटाले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर, कांग्रेस सांसदहरू उठिरहेपछि बैठक सुचारू हुन सकेको छैन।