Logo

एमसीसी कार्यदलको बैठक : अध्ययन सुरु, आक्रोष र सेन्टिमेन्टको पछि नलाग्ने



माघ २४, काठमाण्डौ । एमसीसी अध्ययन कार्यदलको दोस्रो बैठकले एमसीसी सम्बन्धी अध्ययनको थालनी गरेको छ । शुक्रबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले अध्ययनको थालनी गरेको हो ।

एमसीसी सम्बन्धी विभिन्न सन्र्दभ सामग्रीहरु जम्मा पार्ने र तथ्यको आधारमा सत्य पत्ता लगाउने कार्यको थालनी भएको कार्यदल संयोजक झलनाथ खनालले जानकारी दिए । ”हामीलाई दिएको कार्यादेशको आधारमा काम सुरु गरेका छौँ । हामी कुनै पनि आक्रोष, आवेश र सेन्टिमेन्टको आधारमा अघि बढ्दैनौ । सत्यताका आधारमा प्रतिवेदन तयार पार्छौँ ।” खनालले भने ।

दिइएको १० दिनको समयमा काम नसके पार्टी नेतृत्वसँग छलफल गरेर थप अध्ययन गरिने खनालले बताए ।

कार्यदल सदस्य भीम रावलले उपलब्ध सामग्रीहरुको अध्ययन गर्ने र उपयुक्त निचोड निकाल्ने कार्यमा आफुहरु लागिरहेकोे बताए । ”सन्दर्भ सामग्रीहरुको अध्ययनपछि छलफल गरेका छौँ ।” रावलले भने ।

एमसीसीबारे नेकपा पार्टी भित्र र जनस्तरमै व्यापक विरोध भएपछि नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसी सम्बन्धी अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्