दाङ, २५ माघ । दाङ र आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ ।
प्रहरीका अनुसार दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी गीता चौधरीको घरमा चट्याङले हानेको थियो । चट्याङमा परी उहाँकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो ।
बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।