माघ २६, काठमाण्डौ । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको करिब साँढे चार वर्ष भएको छ । यो अवधिमा पुनर्निर्माणको कामले अपेक्षाकृत गति लिन सकेन । जसले गर्दा क्षतिग्रस्त भौतिक संरचना अझै पनि पूर्ववत अवस्थामा फर्किन सकेका छैनन् ।
भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माणको काम करिव ६० प्रतिशत पुरा भएको पुरातत्व विभागले जनाएको छ । आइतबार काठमााडौंमा भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउदै बिभागले उपत्यका भित्रका विश्वसम्पदा क्षेत्रभित्र क्षति भएका कुल १७० सम्पदामध्ये १०१ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएको हो । त्यस्तै काठमाडौंका ५४ सम्पदाको पुनर्निर्माण चालु रहेको र १५ सम्पदा पुनर्निर्माण सुरु गर्न बाँकी रहेको बिभागको भनाई छ ।
बिभागका अनुसार हनुमानढोका क्षेत्रभित्रका क्षतिग्रस्त ३९ सम्पदामध्ये १९ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । ९ सम्पदाको पुनर्निर्माण चालु अवस्थामा र ११ सम्पदाको पुनर्निर्माण सुरु गर्न बाँकी रहेको छ । भूकम्पका कारण ३१ जिल्ला प्रभावित भए पनि चितवन र नवलपरासी बाहेकका जिल्लामा सम्पदामा क्षति पुगेको थियो । जसमध्ये, क्षति भएका ३८० सम्पदामध्ये १३९ सम्पदाको पुनर्निर्माण सम्पन्न, १३२ सम्पदाको पुनर्निर्माण चालु अवस्थामा र १०१ सम्पदाको पुनर्निर्माण बाँकी रहेको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दुईबर्षभित्र पुरातात्विक संम्पदाको पुननिर्माण कार्य सम्पन्न हुने दावी गरे । मन्त्री भट्टराईले पुननिर्माण लागि पुरातात्वीक समाग्री नै प्रयोग गरिने र प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने जानकारी पनि दिएका छन् ।
विभागका अनुसार देशभर ५ हजार पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन् भने ४७० वटा पुरातात्विक स्थल रहेका छन् । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित ३१ जिल्लाका कुल ९२० सम्पदामा क्षति पुगेको थियो । भूकम्पपछिको सम्पदा बस्ती एवं प्राचीन स्मारकहरूको पुनर्निर्माणको कार्यबोझ सम्हाल्ने काम सोचेजस्तो सरल र सहज छैन ।
प्रत्येक प्राचीन स्मारकहरूले आआफ्नै भिन्नभिन्नै विशेषता, प्रकृति तथा स्वरूपले गर्दा विशिष्ट र विशेष महत्व राख्छ । यसले उत्तिकै संवेदनशीलतालाई पनि झल्काएको छ । प्रायस्जसो सम्पदाहरू विविध प्रविधि र निर्माण सामग्रीहरूको प्रयोग गरी निर्माण गरिएका हुनाले ती हरेकको संरचनागत र परम्परागत वास्तु मूल्यको खोज एवं अनुसन्धान गर्नु उत्तिकै जरुरी देखिन्छ ।