काठमाडौं, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण निश्चित भइसकेको छ । भारतले ट्रम्पको भ्रमणको सम्पूर्ण तयारी गरिसकेको छ ।
ट्रम्प अबको १२ दिनपछि भारत भ्रमणमा जानेछन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको विशेष कार्यक्रममा सहभागी हुनेछन् । गुजरातको रोड शो देखि क्रिकेट स्टेडियम उद्घाटनमा समेत ट्रम्प सहभागी हुनेछन् ।
ट्रम्पले छिमेकी भारतको भ्रमण गर्न लाग्दा नेपालमा भने अमेरिकी विकाससम्बन्धी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादमा छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एमसीसी पारित गर्ने नगर्ने अन्यौल नै छ । यसलाई इन्डो-प्यासिफिक रणनीति अन्र्तगत भन्दै नेकपाभित्र चर्को आलोचना भइरहेको छ ।
ट्रम्प प्रशासनले इन्डो प्यासिफिकका लागि बजेट सार्वजनिक गरिसकेको छ । उसले इन्डो प्यासिफिकलाई निकै महत्व दिइरहेको छ । ट्रम्पको भारत भ्रमणले यसकारण पनि अर्थ राख्छ ।
भारत भ्रमणमा आएपनि डोनाल्ड ट्रम्प नेपाल भ्रमणमा आउने छैनन् । कुनैपनि अमेरिकी बहालवाला राष्ट्रपतिले नेपाल भ्रमण गरेको रेकर्ड छैन । सरकारले अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमणको पहल नगरेको होइन । तर, विगतका अमेरिकी राष्ट्रपतिहरुले झै ट्रम्प पनि भारत भ्रमण गरेरै फर्कने गरेका छन् ।
अमेरिकाले पछिल्लो समय नेपालमा चासो नबढाएको होइन । एमसीसीले पनि चासो बढेको देखिन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समय पहिलो अमेरिकी विदेशमन्त्री माइकल पम्पिओसँग वासिङ्टनमा ऐतिहासिक भेट गरेका थिए । नेपालका प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरुका अमेरिकाको भ्रमण गरिरहन्छन् । तर, अमेरिकी राष्ट्रपति नेपालमा आएकै छैनन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि अमेरिकालगायत शक्तिराष्ट्रको चासो बढेको देखिएपनि भ्रमण भने हुनसकेको छैन । सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भ्रमणको निम्तो दिइसकेको छ । तर, अमेरिका र रुस जस्ता देशका राष्ट्रपति नेपाल भ्रमणमा आएका छैनन् । यसमा आइसब्रेक हुन निकै कठिन छ ।-File Photo