काठमाडौं, २९ माघ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये एक हुन् रुक्म शमशेर राणा । सुवर्ण शमशेरका कान्छा छोरा रुक्म नेपाली काँग्रेसको नजिक रहे । काँग्रेस सरकारका पालामा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष देखि भारतका लागि राजदूत समेत भए ।
अहिले रुक्ममाथि ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । ललिता निवास प्रकरणमा राणा परिवार पक्षका वकिल छन् वरिष्ठ अधिवक्ता हिरा रेग्मी । उनले आजको जनआस्था साप्ताहिकमा रुक्म शमशेरको स्वास्थ्य अवस्था गम्भीर भएको खुलासा गरेका छन् । उनले भनेका छन्, ‘यो प्रकरण चर्किएपछि मिर्गौला, सुगर, प्रेसरले थलिएर रुक्मशमशेर मर्नु न बाँच्नुको हालतमा छन् । उनको खुुुट्टा सुन्निएर हात्तिको जत्रो भएको छ ।’
ललिता निवास प्रकरणमा बेइज्जत गर्ने काम मात्र भएको उनको तर्क छ । ललिता निवासको जग्गा श्री ३ भीमसमशेरका छोरा हिरण्यसमशेर राणाको भएको र बाबुको नामबाट छोराको नाममा जग्गा सरेको रेग्मीको भनाई छ । सुवर्ण शमशेर मनग्ये पैसा भएर आन्दोलन लडेका र लोभ पनि नभएका व्यक्ति रहेको उल्लेख गर्दै ललिता निवास सुवर्णको अंशियारमध्येका रुक्म ५७ रोपनीको हकदार भएको तर्क गरेका छन् । उनले यसको क्षतिपूर्ति नलिएको र जफत पनि नभएको बताए ।-File Photo