काठमाडौं, २९ माघ । जतिखेर माधव नेपाल प्रधानमन्त्री थिए, सेक्युरिटी थ्रेट बढी भयो । तीनवटै सेक्युरिटी एजेन्सीको निर्णय पनि छ भन्ने भयो । प्रधानमन्त्री क्वार्टर साना भएका कारण बढाउन, भिभिआइपीहरुको सुरक्षामा बालुवाटारभित्र राउण्ड घुम्न पाउनुपर्दछ भनेर प्रस्ताव हालियो ।
विजय गच्छदार, दीप बस्न्यातलगायत सबै भएको समयमा बाहिर भएका मोहीलाई भाग दिने, अरुको भित्र परेको सात रोपनी जग्गाको सट्टा बाहिर सात रोपनी दिने गरी बाो खोल्ने निर्णय भयो । दिनेशहरि अधिकारीदेखि दीप बस्न्यातसम्म जोडिएको पनि त्यही निर्णयमा हो । त्यसअघि प्रधानमन्त्री क्वार्टरको लालपुर्जा सरकारको नाममा थिएन, सुवर्ण समशेरको नाममा रहेछ । पहिलोपल्ट माधव नेपालकै पहलमा सरकारको नाममा लालपुर्जा बन्यो । मलाई त के लाग्छ भने, माधव नेपाललाई तह लगाउन खोज्दा कुरा बिग्रिँदा बिग्रिँदै यहाँसम्म पुगेको हो कि !
प्रधानमन्त्री, मन्त्रीहरु जोडिएको त राजनीतिक हो । मुद्दा पनि राजनीतिक पूर्वाग्रहमा आधारित छ । मरेको मान्छेलाई मुद्दा चलाइएको छ । त्यसो गर्न मिल्छ ? कुनै पनि कानुनमा मृतकमाथि फौजदारी मुद्दा चल्दैन । प्रतिवादी बनाइएका शैलजा, सुनितीहरु उहिल्यै मरिसके । कोही जग्गा हुनेलाई प्रतिवादी बनाइएको छ । कसैलाई भने छोइएको छैन ।
माधव नेपालले त्यहाँ के गल्ती गरेका छन् र ? गच्छेदारहरुले पनि प्रधानमन्त्रीलाई सघाएका हुन् । त्यसैले गच्छेदार, चन्द्रदेव जोशीहरु प्रतिवादी बनाइनु पूर्वाग्रहबाहेक केही होइन । उनीहरुले त प्रधानमन्त्री निवासलाई विस्तार गर्ने प्रयोजनका लागि भएका निर्णय सदर गरेका हुन् ।
विष्णु पौडेलका छोरा, कुमार रेग्मीहरुले प्राइम ठाउँको जग्गा पाइने सस्तोको लोभमा फसेका हुन् । तर, यहाँ विभेद भयो । कसैलाई मुद्दा चलाइयो, कसैलाई चलाइएन । –जनआस्था साप्ताहिकमा वरिष्ठ अधिवक्ता हिरा रेग्मीको अन्तवार्ताबाट