काठमाडौँ, १ फागुन । सानो अव्यवस्थित बस्ती । प्रायः घरमा टिनको छाना पनि छैन । प्वाल परेको टायलको छानालाई सबैले प्लास्टिकले छोपेका थिए । सडकभन्दा केहीमाथि रहेको उक्त बस्ती झट्ट हेर्दा नीलो, कालो र हरियो रङको प्लास्टिकले रङ्गीचङ्गी देखिन्थ्यो । बस्ती नजिकै पुग्दाको माहोल त झनै अस्तव्यस्त थियो ।
हलिया गाउँ भनेर चिनिने उक्त गाउँमा सबै हलिया समुदायको मात्र बसोबास छ । हलिया बस्तीका एउटा घर पनि व्यवस्थित छैन । सानो बस्तीमा पनि धेरै बालबालिका घरमै झोक्राइरहेका भेटिए । उनीहरू नयाँ मान्छे देख्नासाथ केही सोध्ने हो कि भन्ने डरले भागिहाल्थे । घर छेउमा घाम तापिरहेका शङ्करराम भुलले भने, “चप्पल चुँडिएको तीन दिन भइसक्यो । चप्पलको तुना किन्ने पैसा पनि छैन । ’’ नजिकै रहेको साइलेक मावि, बाडिलेकमा कक्षा ७ पढ्ने शङ्कररामले यसअघि धेरै दिन पोसाक नभएर विद्यालय नगएको सुनाए । त्यस्तै हर्के भुलको पनि समस्या उस्तै छ । कापी र कलम नभएर उहाँ पनि विद्यालय नगई घरमै घाम तापिरहेका थिए । आमा विमली भुलले भने, “मेरो छोरो विद्यालय पढ्ने विद्यार्थी हो तर कापी र कलमको जोहो गरिदिन नसक्दा विद्यालय गएको छैन । ” बैतडीमा रहेको यस दशरथचन्द आधारभूत विद्यालयको इतिहास निकै पुरानो भए पनि अहिले यहाँ अध्ययनरत बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ । बैतडीको गढीमा वि.सं. १९७६ जेठ २ गते भाषा पाठशाला स्थापना भएको विद्यालयको साइन बोर्डमा लेखिएको छ ।
(गोरखापत्र दैनिकबाट)