Logo

विष्णु पौडेल निर्दोष छन्, अख्तियारले माधव नेपाललाई छोड्नै नहुने थियो : डा. सुन्दरमणि दिक्षित (भिडियोसहित)



काठमाडौं, २ फागुन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले ललिता निवास जग्ग प्रकरणमा विष्णु पौडेल निर्दोष भएको टिप्पणी गरेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको उनको आरोप छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण गर्न पनि ओली असफल भए ।’ बालु्वाटारको ललिता निवास जग्गा प्रकरणमा जसरी मुद्दा हालियो त्यसमा पनि विभेद भएको उनको टिप्पणी छ । उनले भने,‘अख्तियारले गर्नै नहुने काम गर्यो । विजय कुमार गच्छदारलाई मुद्दा हाल्दा तत्कालिन प्रमलाई किन मुछिएन ? बदमासी गच्छदारको होला तर, त्यतिवेला प्रधानमन्त्री त माधव नेपाल हुनुहुन्थ्यो, उनले किन रोकेनन् । अख्तियारले छोड्नै नहुने थियो ।’

https://youtu.be/H_pubdwUSq8

उनले यो प्रकरणमा नेकपाका महासचिव विष्णु प्रसाद पौडेल निर्दोष भएको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि उनी त्यतिवेला शक्तिमा थिएनन्, उनलाई त दलालले जग्गा देखाए, उनले किनिदिए । म त विष्णु पौडेलका छोरा नवीन पौडेल पनि दोषी भन्दिन् । तर, उनीहरुले अहिले जसरी जग्गा फिर्ता गरेर सरकारीकरण गराए, यो त आँत्तिएर दिए । मुद्दा लडेको भए हुन्थ्यो । महाबदमासी त्यही क्याविनेटबाट भएको हो ।’

उनले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको सुनाउँदै यो अवधिमा सरकारले जनताले देखिनेगरि खासै काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले काम गर्न सकेन् । यो सरकार सफल होईन् ।’ दुई तिहाई बहुमत प्राप्त सरकारले काम गर्न नसक्नुमा उनले प्रधानमन्त्री ओली स्वयम रोगले ग्रसित हुनुलाई देखाए । उनले भने,‘ओली त मिर्गौला रोगले ग्रस्त भैसकेका रहेछन्। आँट त गरे, तर फिजिकल्ली गर्न सकेनन् । रोगी भएर काम गर्न सकेनन् । अर्को कुरा पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहालले अढाई वर्षको तरवार झुण्ड्यार्ईएकोले काम गर्न सकेनन् । प्रचण्डसँग ओलीले केही न केही वाचा गरेका होलान् । प्रचण्डले अनि त अढाई वर्षको कुरा बारबार भने । ओली त यो अवधिमा असफल नै भए । जुन गतिमा काम हुनुपर्दथ्यो, त्यो भएन् ।’

उनले मुलुक संघीयतामा गैसकेकोले केन्द्र र प्रदेशबीच समन्वय नभएको सुनाए । उनले भने,‘केन्द्र र प्रदेशबीच खिचातानी भयो । आज एउटै पार्टीको हुँदा त यस्तो अवस्था छ । भोलि अर्को पार्टीको भए के होला । जनताले न मेलम्ची पाउन सके, न त विकास नै पाए । पर्यटन वर्षलाई कोरोनाले खाईसक्यो । देखिनेगरि सफलता ओलीको भएन । अब भित्रभित्र भए त म भन्न सक्दिन् ।’



प्रतिक्रिया दिनुहोस्